धनगढी , ०७ पौष २०७७
नागरिकको स्वास्थ्य सुरक्षाका लागि संक्रामक रोग लगायतका जनस्वास्थ्य जोखिम हरुलाई न्यूनीकरण गर्न , महामारी तथा विपद ब्यबस्थापनका लागि तयारी तथा प्रतिकार्य गर्न , सर्ने तथा नसर्ने रोगहरुको रोकथाम , नियन्त्रण एवम् अनुसन्धान गर्नको लागि राष्ट्रिय स्तरमा सबल , सक्षम र स्वायत्त निकाय गठन आवश्यक भएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रोग नियन्त्रण केन्द्र स्थापनाका लागि ऐनको मस्यौदा तयार गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको ऐनको मस्यौदा माथि सात वटै प्रदेशबाट थप राय, सुझाव माग गरि कानून बनाउने प्रक्रियामा जाने निर्णय भएको र सोहि अनुसार सुदूरपश्चिम प्रदेश बाट पनि राय सुझाव माग गर्ने गरि सम्बन्धित पक्ष तथा निकाय संग छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट महाशाखा प्रमुख तथा कोभिड Incident Command System संयोजक डा. गुणराज लोहनी नेतृत्वको टोली सुदूरपश्चिम प्रदेशको धनगढीमा पुगेको छ ।
धनगढीमा आज आयोजित एक अन्तरक्रिया कार्यक्रममा प्रदेशमा स्वास्थ्य सेवा प्रदानका लागि काम गरिरहेका निकाय सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय , सेती प्रादेशिक अस्पताल , महाकाली अस्पताल , प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्र , प्रदेश जनस्वास्थ्य प्रयोगशाला , स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य कार्यालय कैलाली प्रमुख सहितको सहभागितामा सुझाव संकलनको काम गरिएको छ ।
नेपाल सरकार अन्तर्गत रहने गरि स्थापना हुन् लागेको रोग नियन्त्रण केन्द्र स्थापना भै सके पछी महामारी तथा स्वास्थ्य विपदको रोकथाम तथा नियन्त्रण र जनस्वास्थ्य जोखिम न्यूनीकरणका लागि नियमन गर्ने निकाय रोग नियन्त्रण केन्द्र भएको हुनाले नेपाल र नेपालीका खुसीको कुरा भएको छलफलमा सहभागी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताउनु भएको छ । साथै उहाँले सो रोग नियन्त्रण केन्द्रको स्थापाना संगै नेपाल सरकारले बिभिन्न सरुवा रोग नियन्त्रण , निवारण र उन्मुलनका लागि लिएको लक्ष्य समयमै प्राप्त गर्न सहायकसिद्ध हुने समेत जनाउनु भएको छ ।
संघियता पश्चात केन्द्र , प्रदेश र स्थानीय तह संग स्वास्थ्यका निकाय र कार्यक्रमको कुनै पनि आधिकारिक लिन्केज नभएको हुनाले यथाशिघ्र केन्द्र , प्रदेश र स्थानीय निकाय बीच आधिकारिक लिन्केजको ब्यबस्था गर्नुपर्ने , स्वास्थ्य सेवाका सबै निकाय हरुलाई एकै छाता मुनि राख्नु पर्ने र प्रदेशमा छुट्टै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हुनुपर्ने र उक्त मन्त्रालयमा स्वास्थ्य सेवाकै कर्मचारीलाइ नेतृत्व दिनु पर्ने गरि कानून बन्नु पर्ने समेत सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जोड दिनु भएको छ ।
आज भएको अन्तरक्रिया कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रत्यायन सम्बन्धमा ब्यबस्था गर्न बनेको अर्को बिधेयकको मस्यौदा माथि समेत छलफल भएको छ ।