काठमाडौं, २१ चैत्र २०७९
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं शिखर सम्मेलन यही चैत्र २८ र २९ गते गर्ने भएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने उक्त सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ रहेको छ ।
काठमाडौंमा हुने शिखर सम्मेलनमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सयौं अनुसन्धानकर्मीहरुको सहभागिता रहने परिषदले जनाएको छ । सम्मेलनमा १ सय ५० वटा कार्यपत्रहरु प्रस्तुत हुने र नौ वटा प्यानल बनाएर ती कार्यपत्रहरुमाथि छलफल हुनेछन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी सचिव डा. प्रदिप ज्ञवालीले सम्मेलनका लागि दुई सय एकवटा अब्स्ट्रयाकहरु प्राप्त भएको र सो मध्ये एकसय ३७ वटा मौखिक प्रस्तुतिकरण र ६४ वटा पोष्टर प्रस्तुतीकरण हुने बताए । प्रस्तुतीकरण मध्येबाट विधागत रुपमा उत्कृष्ट एक–एक जनालाई अवार्ड प्रदान गरिने उनले बताए । साथै अन्य विभिन्न विधामा एवार्ड तथा पुरस्कार वितरण कार्यक्रम पनि रहेको डा. ज्ञवालीले बताए ।
परिषदले सम्मेलनमार्फत स्वास्थ्य अनुसन्धान कार्यको नियमन गर्न र अनुसन्धानबाट प्राप्त नतिजाहरुलाई स्वास्थ्य क्षेत्रको योजना नीति तथा कार्यक्रममा सूचित निर्णय गर्नका लागि पैरवी गर्ने विश्वास लिएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने परिषदले जनाएको छ ।