काठमाडौं, ७ माघ २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त स्वास्थ्य सचिव १२औं तहमा बढुवाका लागि पुन: ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएको छ ।
अहिले स्वास्थ्य मन्त्रालयको चार मध्ये १२औँ तहको अतिरिक्त सचिवका २ पद रिक्त छन् । २ पदका लागि बढुवा समितिले ३ जनाको नाम सिफारिस गरेको हो ।
यी पदद पहिलेको सरकार रहेकै बेलामा पुस ७ गते स्वास्थ्य मन्त्रालयले १२ औं तहमा बढुवाका लागि ३ जनाकाे नाम सिफारिस गरेको थियो । पुस ११ गते नयाँ सरकार गठन भएपछि बढुवाको सिफारिस रद्द भएको थियो ।

त्यसबेला पहिलो नम्बरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, दाेस्राेमा लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा र तेस्राेमा प्रदेश अस्पताल भद्रपुरका मेडिकल सुपरिडेन्टेड डा. टंक बराकोटीको नाम सिफारिस गरिएको थियो।
अहिले पनि पहिलेकै ती चिकित्सकलाई १२औँ तहमा बढुवाका लागि सिफारिस गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो। अब बस्ने मन्त्रिपरिषद् बैठकले ३ जनामध्येबाट २ जनालाई १२ औं तहमा बढुवा गर्ने निर्णय गर्नेछ ।
स्वास्थ्यमा प्रमुख विशेषज्ञ पद १२औं तहको पद चार वटा दरबन्दी रहेको छ । जसमध्ये अहिले २ वटा पद खाली रहेको छ।
२०७८ मंसिर २ गते १२औं तहमा बढुवा हुनु भएका डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीको अवकासपछि २ वटा दरबन्दी खाली छ । डा. यादवले गत भदौ १ र लोहनीले कार्तिक २ गते अवकास पाउनुभएको थियो ।
हाल डा. संगिता मिश्रा र डा. दीपेन्द्ररमण सिंह १२औं तहमा कार्यरत हुनुन्छ । १२औं तहमा स्वास्थ्य मन्त्रालयमा २, स्वास्थ्य सेवा विभागको महानिर्देशक १ कोभिड युनिफाइड अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृत एक जना रहने व्यवस्था छ ।