काठमाडौं, १८ जेठ २०८०
स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण गरिएको छ। उक्त पुरस्कारबाट सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्याएका छ जना व्यक्ति तथा संस्था पुरस्कृत भएका छन्।
विश्व धूमपानरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय स्वास्थ्य करकोष सचिवालयले बुधबार आयोजना भएको विशेष समारोहमा उनीहरुलाई स्वास्थ्य मन्त्री व्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा उपस्थित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए।
यसअघि पुरस्कृत व्यक्ति तथा संस्थाको छनौट गर्न स्वास्थ्य सचिव डा रोशन पोखरेलको संयोजकत्वमा ६ सदस्यीय पुरस्कार छनौट समिति गठन भएको थियो। त्यसैले गरेको सिफारिसको आधारमा आज पुरस्कार वितरण गरिएको हो।
पुरस्कार पाउनेमा संस्था तर्फ नेपाल विकास अनुसन्धान प्रतिष्ठान ललितपुर, गैरसरकारी संस्था तर्फ एक्सन नेपाल त्रिपुरेश्वर, सरकारी निकाय तर्फ विराटनगर महानगरपालिका, व्यक्ति तर्फ प्राडा. रिता थापा, सरकारी कर्मचारी तर्फ डा. भक्त बहादुर केसी र स्वास्थ्य पत्रकार तर्फ पदमराज जोशी रहेका छन्। पुरस्कृतहरूलाई जनही ५० हजार रुपैयाँ र कदर पत्रद्वारा सम्मान हो।