काठमाडौं, २६ चैत्र, २०७९
स्वास्थ्य बीमा सुरुवात गरेको सातौँ वर्ष पुग्दा ७७ जिल्लाका ७४८ पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको छ।
२०७२ साल चैत २५ गतेदेखि नेपालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो। अहिलेसम्म ६४ लाख ५४ हजार ७७२ जना नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्।
हरेक वर्ष नविकरण गर्नु पर्ने यस विमामा अहिले अधावधिक ३८ लाख ७१ हजार ८५० जना मात्रै रहेका छन्। यो कार्यक्रममा आवद्धता हुन पाँच जना सम्मको परिवारले बार्षिक ३ हजार ५ सय रुपैयाँ तिरेर कुल १ लाख रुपैयाँसम्मको उपचार सेवा लिन पाउछन्।
अहिलेसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाका कुल ७४८ पालिकामा बीमा कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य वीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए। कार्यक्रम लागू नभएका काठमाडौँ, ललितपुर महानगर लगायतका पालिकाहरुमा प्रथम विन्दु तोक्न समस्या हुँदा कार्यक्रम लागू गर्न ढिलाई भएको कार्यकारी निर्देशक डा. बसौलाले बताए।
स्वास्थ्य बीमा बोर्डले अहिलेसम्म अति गरीव ४ लाख ९८ हजार ७२२ जना, जेष्ठ नागरिक ७ लाख ७७ हजार ८१६ जना, एचआईभी संक्रमित र तिनका परिवार गरी ३२ हजार ५३० जना, अति अशक्त विमित १ लाख २२ हजार १५४ जना, कुष्टरोग बिरामी ३ हजार २४२ जना र एमडीआर क्षयरोग भएकाहरु ३ हजार १७ जनलाई निशुल्क रुपमा स्वास्थ्य बीमा आवद्धता गरिएको बताएको छ।
त्यसैगरी १ लाख ९ हजार ६०७ जना परिवारका सदस्य सहितका महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत छुट सुविधा दिएर स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता गराएको उल्लेख गरेको छ।
बार्षिक बजेट १७ अर्व, ३२ करोड ८७ लाख ५७ हजार रुपैयाँ भएकोमा आलु आर्थिक वर्षको १५ चैत सम्म कुल खर्च ९ अर्व ९७ लाख ३१ हजार २० रुपैयाँ (५२ प्रतिशत) खर्च भएको उल्लेख छ।