काठमाडौं, २५ चैत २०७९
स्वास्थ्य बिमा बोर्डले बिमितहरुका लागि मोबाइलबाट बीमाकाे नवीकरण गर्न मिल्ने सुविधा ल्याएको छ ।
बिहीबार छैटौं स्वास्थ्य बिमा दिवसको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै बोर्डले शुक्रबार चैत २५ गतेका दिन यो सुविधासँगै एचआइभी प्रोफाइल मोबाइल एप सेवा सुभारम्भ गरेको छ।
बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बढ्दो सेवाग्राहीको चापका कारण केही सेवा प्रदायक संस्थामा व्यवस्थापन समस्या देखिएता पनि त्यसलाई समाधान गर्ने कार्य भइरहेको बताए । उनले भने, ‘सेवाको गुणस्तर, जनशक्ति बढाउनुपर्ने आवश्यकता छ । जनशक्तिको समस्याले समयमा सेवाग्राहीकाे कागजात रुजु नहुँदा समस्या पर्ने गरेको छ ।’
स्वास्थ्य बिमा कार्यक्रम २०७२ चैत्र २५ गते देखि कैलाली जिल्लाबाट औपचारिक रुपमा सदस्यता दर्ता सुरु भएको हो । हाल यो कार्यक्रमको भौगोलिक विस्तार ७७ जिल्ला तथा ७४५ स्थानीय तहमा भएको छ ।
बुधबारसम्मको बोर्डको तथ्यांक अनुसार कूल बिमित सदस्य संख्या ५३,०४,२७० (२०.०३ प्रतिशत) रहेका छन् भने कूल बिमित परिवारकाे संख्या १५,०८,५१४ (२७.७९ प्रतिशत) रहेको छ । त्यसैगरी कूल बिमित मध्ये सेवा लिनेको संख्या २०,८९,५९९ (कूल बिमितको करिब ३९.३९ प्रतिशत) रहेको छ । नवीकरण गर्नेको संख्या भने ७० प्रतिशत रहेको छ ।
७७ जिल्ला तथा ७४५ स्थानीय तहमा बिमा कार्यक्रमको विस्तार भए पनि बिमा रकम भुक्तानीको सोधभर्ना समयमै नहुनु, बिमितहरु नवीकरणमै नआउनु, जनचेतनाको कमीले गर्दा गुणस्तर हुन नसकेको अवस्था छ।