काठमाडौं, ३० भाद्र २०८२
हेल्थ फाउन्डेसन नेपालको १३औँ वार्षिक सम्मेलन अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ।
सेप्टेम्बर १३ र १४ गते चलेको उक्त सम्मेलनमा अमेरिकाका विभिन्न राज्यबाट चिकित्सक तथा अतिथि सहभागी भएका थिए।
सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डा. श्रीधर पौडेलले संस्थाका उपलब्धी र आगामी योजनाबारे जानकारी गराउनु भयो।
त्यस्तैगरी फाउन्डेसनका कार्यकारी निर्देशक तथा बालरोग विशेषज्ञ डा. आदित्य जोशीले संस्थाको गतिविधि र कार्यक्रमबारे प्रकाश पार्नु भयो।
कार्यक्रममा डा. विभव आचार्य, प्राडा. आनन्द बल्लभ जोशी, डा. शीला मरु र डा. संगीता पुडासैनी काप्रीले अलग–अलग प्रस्तुती गरेका थिए।
सम्मेलनको दोस्रो दिन नेपाल मानसिक स्वास्थ्य संस्था स्थापना गर्ने विषयमा विशेष छलफल गरिएको थियो।
यस्तै, डा. प्रशान्त पौडेल र डा. अर्जुन श्रेष्ठले श्रवण तथा दृष्टि परीक्षणबारे कार्यपत्र प्रस्तुत गर्दै यसलाई गैर–सङ्क्रामक रोग (एनसिडी) परियोजनासँग जोड्न सकिने बताएका थिए। डा. यशस्वी पोखरेलले एनसिडी परियोजनाबारे आफ्नो प्रस्तुतीमार्फत प्रकाश पारेकी थिइन्।