काठमाडौं, ३ पुस २०७९
“स्थानीयद्वारा स्थानीयकै लागि” भन्ने मूल उद्देश्यका साथ स्थापित टोखाको धापासीस्थित ग्रीनलाइफ हेल्थकेयर, मल्टी-स्पेसियालिटी क्लिनिक एनड डायग्नोस्टिक्स र टोखा नगरपालिका-८ मा रहेको रमण बस्ती टोल सुधार समितिको संयुक्त आयोजनामा १ दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सो शिविरमा वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. खेम राज अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी विशेषज्ञ डा. क्षितिज सापकोटा, कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. बिप्लव घिमिरे, वीर अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सजना श्रेष्ठ, ग्रीनलाइफ हेल्थकेयरका डा. रोशन भट्टराई र डा. बिजय शाह लगायतले सेवा प्रदान गर्नुभएको थियो।
शिविरमा निःशुल्क रक्त परीक्षण, निःशुल्क औषधी लगायत अन्य सेवामा २५% छुटको व्यवस्था गरिएको थियो।
शिविरमा करिब ९० जनाले निःशुल्क सेवा लिनु भएको र यसमा धेरैजसो बालबालिका र ज्येष्ठ नागरिक रहेको ग्रीनलाइफ हेल्थकेयरका सिइओ डा. रोशन भट्टराईले बताउनुभयो।
स्थानीय चिकित्सकहरूको समुदायद्वारा स्थापित यस संस्थाले आगामी दिनहरुमा पनि स्थानीयहरु सँग समन्वय गर्दै नि: शुल्क स्वास्थ्य शिविर कार्यक्रमहरु गर्ने जनाएको छ।