काठमाडौं, ९ कार्तिक २०८०
राजधानीको धुम्बराही स्थित रहेको ह्याम्स अस्पतालले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ।
पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर जारी गर्ने निर्णय गरेको हो। जुन जारी पुँजीको १५ प्रतिशत हो। प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा शेयर जारी हुनेछ। अस्पतालले सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ।
साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुने अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ। बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने बताइएको छ ।