काठमाडौं, ५ भाद्र २०७९
काठमाडौं टोखा – ७ धापासीस्थित ग्रीन लाईफ हेल्थ केयर र टोखा – १ झोर स्थित राधाकृष्ण युवा क्लबको संयुक्त आयोजनामा टोखा १ झोर बौडेश्वर माविमा १ दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. खेमराज अधिकारी, वीर अस्पतालकै प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. सजना श्रेष्ठ, राष्ट्रिय ट्रमा सेन्टरका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. क्षितिज सापकोटा, कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. राज कुमार बिक र ग्रीन लाईफ हेल्थ केयरका डेन्टल सर्जन डा. सरीता ढकाल सेवा प्रदान गर्नु भएको थियो।
शिविरमा कुल २०० जनाले सेवा लिएकोमा ६० जनाले फिजिसियन, २५ जनाले स्त्री तथा प्रसुति सेवा, ३५ जनाले हाडजोर्नी, ३५ जनाले बालरोग र ४५ जनाले दन्तरोग सम्बन्धि सेवा लिएको मेडिकल संयोजक डा. क्षितिज सापकोटाले बताउनुभयो।
शिविरमा ३२ जनाको सुगर र ५ जनाको ब्लड ग्रुपिङ निशुल्क परीक्षण भएको थियो। शिविरमा निशुल्क परीक्षण गर्न आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएकोले सेवाग्राही प्रत्यक्ष रुपमा लाभान्वित भएको ग्रीन लाईफ हेल्थ केयरकी सिइओ डा. सरिता ढकालले जानकारी दिइन्।
टोखाको झोर प्रत्यक्ष रुपमा विशेषज्ञ चिकित्सकको सेवा नपाउने स्थानमा रहेकोले यो शिविर निकै महत्वपूर्ण रहेको स्थानीय गोपाल अधिकारीले बताउनुभयो।
टोखाकै स्थानीय चिकित्सकहरु द्वारा स्थापित यस संस्था छिट्टै नै चिकित्सक – समुदाय साझेदारी मोडेलमा अस्पतालको स्तरोन्नति हुने योजनामा रहेको छ।