काठमाडौं, १० असोज २०८०
धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा क्षयरोग उपचार केन्द्र (डट्स)को स्थापना गरिएको छ।
सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. बिनोद बिजुक्छेले संयुक्तरुपमा केन्द्रको उद्घाटन गरेका छन।
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा. श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचारको व्यवस्था गर्न टोखा क्षेत्रमा उक्त निःशुल्क क्षयरोग केन्द्र खोल्न ग्रान्डी अस्पतालले स्थान व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे।
डा. श्रेष्ठका अनुसार केन्द्रमा क्षयरोगीहरुको लागि निःशुल्क उपचार तथा औषधि वितरण गरिनेछ।
ग्रान्डीमा मात्र नभई मुलुकका सबै ५० बेड भन्दामाथि सञ्चालित अस्पतालले डट्स केन्द्र राख्नु आवश्यक रहेको डा. श्रेष्ठले बताए। ग्रान्डी अस्पतालबाट सुरुवात भएको यस कार्यक्रमलाई मुलुकभरका निजी अस्पतालहरुमा लैजाने लक्ष्य सरकारको रहेको उनले बताए।
अस्पतालका मेडिकल डाइरेक्टर डा. बिनोद बिजुक्छेले बिरामीको हितका लागि अस्पताल सधैं सकारात्मक रहेको धारणा राखे। उनले ग्रान्डी अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्र स्थापना गरेको समेत बताए। कार्यक्रममा टोखा नगरपालिकाका प्रतिनिधीहरु, अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो।