काठमाडौं, १३ माघ २०७८
सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहलाई आक्रमण गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न माग गरेको छ।
बुधबार अस्पतालको गाडी रोकेर जनमत पार्टीका कार्यकर्ताले झ्यालका सीसा फुटाई डा. साहको टाउको र अनुहारमा प्रहार गरेको घटनाप्रति चिकित्सक संघले विरोध गरेको हो।
चिकित्सकलाई गाडीको झ्यालको सिसा फुटाएर ज्यान जान सक्ने गरी टाउको र अनुहारमा निर्मम घाउ चोट बनाउने कुकृत्यले हाम्रो समाजमा राजनीतिका नाममा व्याप्त रहेका असामाजिक तत्त्वहरूलाई नङ्ग्याएको छ, संघका अध्यक्ष डा. रविन खड्का र महासचिव डा. किर्तिपाल सुवेदीले आज निकालेको विज्ञप्तिमा भनिएको छ।
संघले आफूहरूका माग पूरा नभए विरोधका थप कार्यक्रम ल्याउने सरकारलाई चेतावनी दिएको छ ।