काठमाडौँ, २९ माघ २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा स्थापनाका गरिने बताएका छन्।
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरु सहित गएको सरोकारवालाहरुसँगको छलफलका क्रममा उनले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा स्थापना गरिने बताएका हुन्।
मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा विकास गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्यहरु एनपी साउँद, दिलेन्द्रप्रसाद बडू, पुष्प बहादुर शाह, राष्ट्रियसभा सदस्य नारायण मिश्र, नेकपा एमालेका नेता प्रतिनिधिसभा सदस्यहरु लेखराज भट्ट, तारा लामा तामाङ, नेताहरु भीम रावल, लेखराज भट्ट, दीपकप्रकाश भट्ट लगायत बालुवाटार गएका थिए।
छलफलका क्रममा प्रधनमन्त्री प्रचण्डले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन आगामी मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक स्वीकृतिका लागि निर्णय गर्ने आश्वासन दिएको नेता साउदले जानकारी दिए।
‘हामीहरु आज (आईतबार) बिहान गेटा मेडिकल कलेजलाई युनिभर्सिटी बनाउनुपर्यो भनेर प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार गएका थियौं,’ उनले नेपालखबरसँग भने, ‘उहाँले आगामी क्याबिनेट मिटिङबाट युनिभर्सिटीका लागि सैद्धान्तिक स्वीकृतिका लागि निर्णय गराउँछु भन्नुभएको छ।’
एमाले नेता तथा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफल पछि कैद गरिएको तस्बिर सामाजिक सञ्जाल फेसबुकममा राखेका छन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवासमा प्रस्तावित गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सम्बन्धमाको छलफल,’ तस्बिरसँगै उनले लेखेका छन्, ‘अब मन्त्रिपरिषद्को १/२ क्याबिनेटको बैठक पछि नतिजा हेर्नुछ।’
यस्तै छलफलमा सहभागी एमालेकै अर्का नेता दीपकप्रकाश भट्टले प्रधानमन्त्री प्रचण्डले मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्तावित गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रतिबद्धता,’ उनले फेसबुकमा लेखेका छन्, ‘हामी सबैको तर्फबाट हार्दिक धन्यवाद।’