काठमाडौं, ०१ चैत २०७८
नेपालकै पहिलो वृहत स्वास्थ्य शिविर भोजपुरमा विशेषज्ञ चिकित्सक उपस्थितिमा शिविर सम्पन्न भएको छ।
नेपालकै प्रतिष्ठित चिकित्सकसहितको उपस्थिति रहेको भोजपुर जिल्लामा विभिन्न विभागसहित सञ्चालित निःशुल्क स्वास्थ्य शिविर नेपालमै अहिलेसम्मको ठूलो भएको दाबी गरिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका राज्यमन्त्री उमेश श्रेष्ठ, प्रदेश नम्बर एकका पूर्व मुख्यमन्त्री शेरधन राईदेखि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले मगरले भोजपुरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरलाई ऐतिहासिक र अहिलेसम्मकै ठूलो भएको दाबी गरेका छन् ।
भोजपुर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा प्रतिष्ठित चिकित्सक डा. भगवान कोइराला, डा रत्नमणि गजुरेल, डा. मेनन गोर्खाली, डा विश्व दवाडी डा. दीपक सिग्देल, डा. आनन्दप्रसाद श्रेष्ठ, डा. भुपेन्द्र कुमार बस्नेत, डा. प्रमोद जोशी, न्युरो सर्जन डा. प्रत्युस श्रेष्ठ, डा. फर्वाड शाह, डा.रबिन बस्नेत, डा. प्रकाश बुढाथोकी, डा. राकेश शाह, डा. सुनिल रेग्मी, डा. बिपेश आचार्य, डा. सञ्जीव तिवारी, डा. विक्रान्त ढकाल, डा. नन्दा गुरुङ, डा. योगेश न्यौपाने, डा. गुरुशरण शाह लगायत ५० बढी विशेषज्ञ चिकित्सकले सेवा दिएका छन् ।
योभन्दा अगाडि यति धेरै ठूलो संख्यामा विशेषज्ञ चिकित्सक उपस्थिति भएको स्वास्थ्य शिविर नरहेको आयोजक संस्थाहरुको भनाई छ ।
भोजपुर नगरपालिकाको आयोजना, दावाँली मिलन क्लबको समन्वय र नेपाल चिकित्सक संघसँगको सहकार्यका सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा हजारौंले स्वास्थ्य सेवा लिएका छन् ।
दुई दिनसम्म चलेको निःशुल्क स्वास्थ्य शिविरबाट ५ हजार भन्दा बढीले सेवा लिएको कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीरका प्रशासकीय अधिकारी प्राध्यापक डा. भुपेन्द्र कुमार बस्नेतले जानकारी दिए।
पूर्व मुख्यमन्त्री शेरधन राईले पनि भोजपुरको स्वास्थ्य शिविर अहिलेसम्मकै ऐतिहासिक र ठूलो रहेको दाबी गरेका छन् । भोजपुर जिल्लाबासीले अवसरको रुपमा लिनुपर्ने भन्दै उनले वृहत्त निशुल्क स्वास्थ्य शिविरलाई सफल बनाउनु पर्ने बताए । ‘धेरै ठूलो संख्यामा विशेषज्ञ चिकित्सकको उपस्थितिमा स्वास्थ्य शिविर सञ्चालन गरेको थाहा थिएन, त्यसैले यो नै पहिलो वृहत्त निःशुल्क स्वास्थ्य शिविर हो’, पूर्व मुख्यमन्त्री राईले भने ।
जिल्ला अस्पताल भोजपुरलाई ५० बेडमा स्तरोन्नती गर्न संघ र प्रदेश मिलेर संयुक्त रुपमा पहल गर्नुपर्ने र त्यसका लागि राज्यमन्त्री श्रेष्ठलाई अग्रसरता लिन उनले आग्रह गरे ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भोजपुरमा सञ्चालित स्वास्थ्य शिविर ऐतिहासिक र वृहत्त रहेको बताए । उनले आफ्नो ठाउँमा आएर सेवा दिन पाउँदा खुसी लागेको बताउँदै स्वास्थ्यको क्षेत्रमा भोजपुरलाई थप अगाडि बढाउनु पर्ने धारणा राखे ।
कोरोना महामारीमा जिल्ला अस्पताल भोजपुरमा अक्सिजन प्लान्ट स्थापना गर्न पहल गरेको बताउँदै जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नती गर्न आवश्यक पहल लिने स्पष्ट पारे ।