काठमाडौं, २५ जेठ २०७९
रोटरी क्लब अफ बानेश्वरले काठमाडौंको मूलपानीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
कागेश्वरी-मनोहरा न.पा.-७ स्थित आनन्द भैरव माध्यमिक विद्यालयमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको क्लबका अध्यक्ष महेन्द्रराज भुसालले बताए ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ३० जना स्वास्थ्यकर्मीको टिमले ५१९ जना बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।
जसमा सामान्य चिकित्सा, नाक कान घाँटी, छाला, प्रसूति, मुटुरोग, जनरल सर्जरी, बालरोग, नसा तथा हाडजोर्नी, आँखा, दाँतसम्बन्धी रोगको परीक्षण गरिएको भुसालले जानकारी दिए ।
परीक्षणको क्रममा स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई केमसी अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो । अस्पतालमा रिफर भएका बिरामीलाई बेड तथा अपरेसनको लागि ५०% छुट दिने ब्यबस्था गरिएको छ । स्कुलमा बिपन्न तथा आर्थिक अबस्था कमजोर भएका छात्राहरूलाई निशुल्क पठनपाठनको लागि रू एक लाखको धनराशि सहयोग गर्दै आएको अध्यक्ष भुसालले जानकारी दिए ।