काठमाडौं, २५ असार २०७९
केही औषधि उत्पादनमा संलग्न संघ संस्थाहरुले जनमानसमा भ्रम सिर्जना हुने सन्देश सम्प्रेषण गरेर न्युट्रास्यूटिकल र फुडसप्लिमेन्टको बदनाम गरेको भन्दै नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्यूटिकल तथा कस्मस्युटिकल समाज (फ्यानक्यन) ले आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ ।
फ्यानक्यनले बिहीबार विज्ञप्ति जारी गर्दै न्युट्रास्यूटिकल र फुडसप्लिमेन्टका बिषयमा यस प्रकारका भ्रूमपूर्ण विज्ञप्ति र पूर्वाग्रही अभिव्यक्ति नदिन समेत ती संघ संस्थाहरुलाई चेतावनी दिएको छ । नेपाल सरकारको खाद्य ऐन २०२३ मा व्यवस्था भए अनुसार २०७२ सालदेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता र मापदण्डका आधारमा न्युट्रास्यूटिकल्स र फुडसप्लिमेन्टलाई दर्ता, आयात र उत्पादन गर्नेअनुमती दिदै आइरहेको स्मरण गराउदै ट्याब्लेट र क्याप्सुल आकारमा उत्पादन हुने फुडसप्लिमेन्टलाई औषधिको रुपमा बझ्न नहुने फ्यानक्यनले जनाएको छ ।
रोग लागि सकेपछिअस्पताल गएर उपचार गराउनु भन्दा रोग लाग्नै नदिन न्युट्रास्यूटिकल र फुडसप्लिमेन्टको आवश्यक पर्ने भएकाले उपभोक्ताले कुनै किसिमको भ्रममा नपर्न फ्यानक्यनले सबैमा आग्रह गरेको छ । फ्यानक्यनका अध्यक्ष सुरेन्द्र मानन्धर र महासचिव शम्भु यादवले हस्ताक्षर गरेको विज्ञप्तिमा यो व्यवसायले देश भरि कम्तिमा पनि १० हजार जनालाई रोजगारी दिइरहेको र राजश्वमा पनि ठूलो योगदान दिइरहेको उल्लेख गरिएको छ ।
फ्यानक्यनले न्युट्रास्यूटिकल र फुडसप्लिमेन्टका बिषयमा सत्य तथ्य सूचना प्रवाह गर्न पनि सबै सञ्चार माध्यमहरुलाई आग्रह गरेको छ । फ्यानक्यन आय्ुर्वेदिक, न्युट्रास्यूटिकल तथा कस्मस्युटिकल सामग्री आयात गर्ने, विक्रीबितरण र उत्पादन गर्ने व्यवसायीहरुको छाता संगठन हो ।