महेन्द्रनगर , १७ पौष २०७७
सुदूरपश्चिम प्रदेश , सामाजिक बिकास मन्त्रालय , स्वास्थ्य निर्देशनालय राजपुर डोटीले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सम्बन्धिको तथ्यांक प्रविष्टि गर्ने प्रणाली स्वास्थ्यको सबभन्दा मुनिको निकाय आधारभूत स्वास्थ्य सेवा केन्द्र , सामुदायिक स्वास्थ्य एकाइ, नगर स्वास्थ्य केन्द्र सम्म बिस्तार गरेको छ ।
प्रदेश सरकारले स्वास्थ्यको सुचना प्रविष्टि गर्ने डी एच आइ एस २ प्रणाली यस भन्दा पहिला स्वास्थ्य चौकी स्तर सम्म मात्र पुगेको अवस्थामा सबै स्वास्थ्य संस्थाको प्रतिबेदन डी एच आइ एस २ ले निर्धारण गरेको समयमा सिस्टममा इन्ट्री हुन् नसकी रहेको अवस्था थियो । सोहि समस्यालाई सम्बोधन गर्न र डी एच आइ एस २ रिपोर्टिंग प्रणालीलाई आधारभूत तह सम्म पुर्याउनको लागि स्वास्थ्यकर्मीहरुलाइ प्रशिक्षण दिने र प्रशिक्षण पश्चात सम्बन्धित स्वास्थ्य संस्था बाट नै प्रतिबेदन प्रविष्ट गर्नको लागि स्वास्थ्यकर्मीहरुको क्षमता बिस्तार गरि सो कार्यलाई तिब्रताका साथ अगाडी बढाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनु भएको छ ।
सुदूरपश्चिम प्रदेश डी एच आइ एस २ रिपोर्टिंग प्रणाली सुदृढ गर्नमा लागेको हुनाले सुदूरपश्चिम प्रदेश निर्धारित समयमा इन्ट्री गर्ने अन्य प्रदेश भन्दा सदैब अगाडी रहेको छ । सो कुरा स्वास्थ्य सेवा बिभाग एकीकृत स्वास्थ्य सुचना ब्यबस्थापन प्रणालीमा कार्यरत तथ्यांक अधिकृत श्री बिर बहादुर रावलले सुदूरपश्चिम प्रदेशलाई प्राप्त इमेल तथ्यांकबाट समेत प्रष्ट हुन्छ ।
महिना बिते पछी अर्को महिना १५ गते भित्र हरेक स्वास्थ्य संस्थाले सम्पादन गरेको कामहरुको प्रतिबेदन डी एच आइ एस २ प्रणालीमा प्रविष्ट गरि सक्नु पर्छ । सो तथ्यांक प्रविष्ट गर्ने काममा सुदूरपश्चिम प्रदेश सदैब पहिलो स्थानमा रहने गरेको कुरा समेत स्वास्थ्य निर्देशक डा.अवस्थीले बताउनु भएको छ ।
डी एच आइ एस २ प्रणाली बलियो बनाउन स्वास्थ्य निर्देशनालय राजपुर डोटीले कंचनपुर जिल्ला अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्र , सामुदायिक स्वास्थ्य एकाइ, नगर स्वास्थ्य केन्द्र , बर्थिंग सेन्टर , स्वास्थ्य चौकी , प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मिहरुका लागि १४ देखि १७ पौष २०७७ सम्म तालिम संचालन गरेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीमा कार्यरत तथ्यांक अधिकृत श्री मोहन देव भट्टले जानकारी दिनु भएको छ ।