कैलाली , ५ असार
सुदुरपश्चिम प्रदेशमा विभिन्न जिल्लामा लागेर अहिलेसम्म ११ स्वास्थ्यकर्मी सहित ६१७ जनामा कोरोना संक्रमणको पुष्टि भएकाे छ । बिहीबार एकैदिन दुई सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३, धनगढी प्रयोगशालामा २४ जना र बाँकेमा गरिएको परीक्षणमा एक जना गरी दुई सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय १७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणमा अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका दुई महिला र २३ पुरुष गरी २५ जना, बाजुराका १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका सात महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीका दुई २ महिला र १९ पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको थियो । बाँकेको प्रयोगशालामा कैलालीकै थप एक जनामा कोरोना पुष्टि भएको छ ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक सय ४९ जना, कञ्चनपुरका ९५, डडेल्धुराका एक सय २३, डोटीका ४२, बैतडीका ५२, अछामका ६७, बाजुराका ६२, बझाङका १६ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिममा अहिलेसम्म पुष्टि भएका चार जनाको मृत्यु भइसकेको छ भने ८१ जना निको भएर घर फर्किसकेका छन् ।
प्रदेशमा ११ जना स्वास्थ्यकर्मीमा काेराेना पुष्टि
साथै सुदूरपश्चिम प्रदेशमा ११ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसअघि पाँच जना स्वास्थ्यकर्मी सङ्क्रमित भएकोमा बिहीबार मात्रै थप ६ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बाजुरा जिल्लामा बिहीबार थप ४१ जनामा कोरोना पुष्टि भएकोमा ६ जना स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।
बाजुरामा ४१ जनामा सङ्क्रमण देखा परेको मध्ये चार जना बडीमालिका नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी, एक जना स्वास्थ्य कार्यालय बाजुरा र एक जना अस्पतालको कर्मचारीमा कोरोना पुष्टि भएको हो ।