कैलाली, २४ भाद्र २०७९
सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा जेठ महिनायता डेङ्गु रोगको संक्रमण बढ्दै गएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठ देखि सुदूरपश्चिममा प्रादेशिक र जिल्ला अस्पतालमा मात्रै एक सय ६१ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।
“डेङ्गुको संक्रमण पहाडसँगै तराईका जिल्लामा सबैतिर देखिन थालेको छ”, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीले भने, “इवारस् रिपोर्टिङ विधिबाट जिल्ला अस्पतालसम्मको तथ्याङ्क संकलन हुने गरेको छ ।” उनले पालिका र प्राथमिक स्वास्थ्य केन्द्र स्तरसम्मको डेङ्गु रोगको बिरामीको तथ्याङ्क अझ बढी रहे पनि संकलन हुन नसकेको बताए ।
त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकार र स्वास्थ्य निर्देशनालयले डेङ्गु संक्रमण नियनत्रणमा खटिएका चिकित्सकसहित कर्मचारीलाई आवश्यक प्रशिक्षण दिनुका साथै जाँचका लागि किट उपलब्ध लगायतका कार्य गरिरहेको छ । “संघको सशर्त अनुदानअनुसार डेङ्गुको लार्भा नष्ट गर्न पालिकास्तरमा बजेट आएको छ”, उनले भने, “यहाँका विभिन्न पालिकाले सो अभियान सञ्चालन गरिरहेका छन् ।” त्यसैगरी गर्मी क्षेत्रमा हुने डेङ्गुको संक्रमण यहाँका पहाडी जिल्लामा समेत देखिन थालेको छ ।
निर्देशनालयको तथ्याङ्कानुसार कैलालीमा ४१, कञ्चनपुरमा ३२, डोटीमा १४, अछाममा ७, डडेल्धुरा र बैतडीमा ९ – ९ , दार्चुलामा ३३, बझाङ र बाजुरामा ८-८ जनामा डेङ्गुको संक्रमण देखिएको छ ।
निर्देशानालयका अनुसार डेङ्गु संक्रमण नियन्त्रणका लागि नागरिकहरु पनि स्वयं जिम्मेवार हुनुपर्ने छ । असोज अन्तिमपछि संक्रमण कम हुँदै जान्छ र लामाखुट्टे नष्ट गर्ने अभियान सञ्जालन गर्नुपर्छ ।