धनगढी, २६ माघ २०७८
सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै स्वामित्वको प्रदेश बिश्व विद्यालय स्थापना गर्न तथा प्रदेशमै उच्च शिक्षा अध्ययनको सुबिधा उपलब्ध अध्ययन गराउनको लागि २०७८ असोज अन्तिम साता गठन गरेको अध्ययन कार्य दलले आज एक समारोह बीच प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक बिकास मन्त्रीलाइ प्रतिबेदन पेश गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक बिकास मन्त्रालयको अगुवाइमा २०७८ असोजमा डा. खेमराज जोशीको अध्यक्षतामा प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षाको सम्भाव्यता अध्ययन कार्यदल गठन गरिएको थियो । कार्यदलले साढे ४ महिनाको समयमा प्रदेशमा विश्वविद्यालय तथा उच्च शिक्षाको सम्भाव्यता सम्बन्धि अध्ययन गरि प्रतिबेदन तयार गरेको हो ।
सामाजिक बिकास मन्त्री श्री लाल बहादुर खड्काको अध्यक्षता र माननीय मुख्य मन्त्री श्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा धनगढीमा आयोजित कार्यक्रममा कार्यदलले तयार गरेको प्रतिबेदन प्रस्तुत गरेको छ ।
प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षा सम्भाव्यता अध्ययन कार्यदलको प्रतिबेदन ग्रहण गर्दै सामाजिक बिकास मन्त्री श्री लाल बहादुर खड्का ज्यु ले प्रतिबेदनमा प्रस्तुत भएका बिषयबस्तु गहन तरिकाले अध्ययन गरि छिटो भन्दा छिटो कार्यान्वयन प्रक्रियामा लैजाने कुरा बताउनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्ट ज्युले अध्ययन प्रतिबेदन ग्रहण गर्दै प्रतिबेदनले औल्याएका सुबिधाहरु प्रदेशमै उपलब्ध गराउनको लागि श्रोत सुनिस्चित गरिने र चाँडो भन्दा चाँडो यसलाई टुंगोमा पुर्याउने बताए।