धनगढी , ११ वैशाख ।
सुदूरपश्चिम प्रदेशमा र्यापिड टेस्टले तीव्रता पाएपनि पीसीआर विधिबाट हुने परीक्षणले भने अझै गति लिन सकेको छैन् । धनगढीमा पीसीआर विधिबाट परीक्षणका लागि दुईवटा प्रयोगशाला स्थापना गरिएपनि अहिलेसम्म परीक्षणले तिव्रता नपाएको हो । प्रदेशभरीबाट बुधबार मात्रै थप नौँ सय १० जनाको कोरोना परीक्षण गरिएकोमा अधिकांशको र्यापिड टेष्ट नै गरिएको हो ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार बुधबार पीसीआर विधीबाट १४ जनाको मात्रै परीक्षण गरिएको छ । नयाँ पीसीआर परीक्षणमा कसैमा पनि कोरोना देखिएको छैन् । यस्तै बुधवार मात्रै र्यापिड टेस्ट विधिबाट भने ८ सय ९६ जनाको परीक्षण गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ । र्यापिड टेस्टमा चार जिल्लामा ५ जनाको रिपोर्ट पोजेटिभ देखाएको केन्द्रले जनाएको छ । बाजुरामा दुई, अछाम, डडेल्धुरा र कैलालीमा एक÷एक गरी ५ जनामा र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ देखाएको हो । पाँच जनामध्ये एक जनाको पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखाएको छ भने बाँकी चार जनाको पीसीआर परीक्षण बाँकी रहेको केन्द्रले जनाएको छ । यस्तै केन्द्रले अछाम र बाजुरामा २/२ जनाको रिपोर्ट इरर आएको जनाएको छ ।
प्रदेशभरीमा अहिलेसम्म दुवै बिधीबाट १० हजार ८ सय ३४ जनाको परीक्षण गरिएको छ भने अब ५ जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै अहिलेसम्म विभिन्न अस्पतालको आईसोलेसनमा राखिएका ९९ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अहिले प्रदेशका विभिन्न अस्पतालमा ६ जनालाई आईसोलेसमा राखिएको छ । जसमा दुई जना कोरोना संक्रमित छन् भने बाँकी ४ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ । उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाईनमा एक हजार सात सय ५९ जनालाई राखिएको छ ।