बिराटनगर, १९ असार २०७९
नेपाल नेत्र ज्योति संघले प्रदेश नं १ मा दृष्टिदोष सम्बन्धि सर्वेक्षण गर्ने भएको छ।
संघले गठित पूर्वाञ्चल क्षेत्रीय आखाँ उपचारका मातहत रही संचालित बिराटनगर आखाँ अस्पताल, रानी बिराटनगर एवं वन साइट नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सँयुक्त आर्थिक एवं प्राविधिक सहयोगमा प्रदेश नं १ मा दृष्टिदोष सम्बन्धि सर्वेक्षण गरिने संघका कार्यक्रम व्यवस्थापक रन्जन शाहले जानकारी दिएका छन्।
शाहका अनुसार विश्वमै कोभिडको सन्त्रास एवं महामारी फैलिरहेको परिप्रेक्ष्यमा नेपाली समुदायमा पनि स्क्रीन टाईम बढ्नुका साथै इलेक्ट्रोनिक ग्याजेट्सहरुको प्रयोग गरि अन्लाईन कार्य गर्ने प्रवृत्ति अत्यधिक तवरले बढ्दै गइरहेकाले यस्तो सर्वेक्षण गर्न लागिएको हो।
यसै सन्दर्भमा प्रदेश एकमा दृष्टिदोषको अवस्था के कस्तो छ, चस्मा प्रयोगको कवरेज के कस्तो छ, चस्माको प्रयोगमा वाधक तत्वहरु के कस्ता छन् र चस्मा किन्नुप्रति जनमानसमा के कस्तो धारणा रहेको छ भन्ने पत्ता लगाउनु यस सर्वेक्षणको मूल उद्देश्य रहेको शाहले बताए ।
यो सर्वेक्षण आगामी डिसेम्बरसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनको भनाई रहेको छ। नेपाल नेत्र ज्योति संघ, नेपालमा आँखा स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्ने एक मुनाफा रहित गैरसरकारी स्वास्थ्य संस्था हो ।
यस संस्थाले आफ्नो २७ वटा आँखा अस्पताल तथा १४२ वटा आँखा उपचार केन्द्रको सन्जालमार्फत नेपालमा आँखा सम्बन्धि जनचेतना एवं सुचना प्रवाह तथा देशमा कुल आँखा स्वास्थ सेवाको करिब ९० प्रतिशत सेवा जनमानसमा पुर्याउदैं आइरहेको छ।