काठमाडौं ,७ असोज २०७७
विगत केही दिनदेखि सामाजिक संजाल तथा अनलाईन पत्रिकाहरुमा आँखा स्वास्थ्यकर्मीहरुका विभिन्न तहका जनशक्तिबीच देखिएको ध्रुवीकरण र तिक्तता देखेर नेपाल दृष्टि विशेषज्ञ संघले खेदपूर्ण व्यक्त गरेको छ।
नेपालको आँखा स्वास्थ्य सेवा दक्षिण एसियामा नै उदाहरणीय छ जसको श्रेय आँखा स्वास्थ्यकर्मीलाई जान्छ। विभिन्न तहका आँखा स्वास्थ्यकर्मीहरु बीचको सामन्जस्यता र असल अन्तरसम्बन्धले गर्दा नै आँखा स्वास्थ्य क्षेत्रले सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न सकेको तथ्यमा दुई मत नभएको संघका अध्यक्ष निरज देब जोशीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभयो।

उनले लेखेका छन हामी सबै तहका जनशक्ति एकअर्काका परिपूरक हौं भन्ने कुरालाई हामी सबैले आत्मसाथ गर्दै एकले अर्को पेशाप्रति पेशागत मर्यादा र सम्मान गर्दै अगाडि बढे आँखा स्वास्थ्य सेवा थप सुदृढ हुनेछ।
एकै कार्यक्षेत्रमा बसेर सेवा प्रदान गर्दा विभिन्न तहका आँखा स्वास्थ्यकर्मीहरुबीच कहिलेकाहिँ असमझदारी आउनु स्वभाविक हो जसलाई हामी जस्तो जिम्मेवार संगठनहरुले साथमा बसी संवाद मार्फत इमान्दारी र जिम्मेवारीका साथ टुङ्ग्याउनु नै सबैभन्दा उत्तम विक्लप देखिन्छ।
नेपाल दृष्टि विशेषज्ञ संघ, आँखा स्वास्थ्यकर्मी संगठनहरुलाई वार्ता र संवाद मार्फत तत्कालका असमझदारीलाई निराकरण गर्न तथा आँखा स्वास्थ्य क्षेत्रलाई सबल बनाउन एवम् हामी बीचको अन्तरसम्बन्ध अझ प्रगाढ बनाई अघि बढाउन समस्त सरोकारवाला निकायसंग हार्दिक अपिल गरेको छ।