काठमाडौं, ११ माघ २०७९
नेपालमा पहिलोपटक महिलाहरुको प्रजनन् अंगमा हुने स्वास्थ्य समस्याको बिना शल्यक्रिया उपचार गर्ने प्रविधि इम्पावर आरएफ मेसिन सञ्चालनमा आउने भएको छ।
प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रश्मी श्रीस र डा. मिरा थापाले महिलाको प्रजनन् अंगमा हुने समस्याको कस्मेटिक उपचारका लागि उक्त मेसिन नेपाल भित्र्याएका हुन्।
मंगलबार आयोजित कार्यक्रममा डा. रश्मीले छिट्टै कस्मेटिक गाइनोकोलोजी सेन्टर सञ्चालन गर्ने र त्यही सेन्टरबाट मेसिनका विषयमा जानकारी दिइन्।
उनले भनिन् ‘महिलाहरुको प्रजनन् समस्या तथा सन्तान जन्माइसकेपछि महिनाको शरीरमा हुने समस्यहरुको लागि इम्पावर आरएफ मेसिनद्धारा उपचार गर्ने सेवा सञ्चालन गर्न लागिएको हो, ‘त्यसका लागि छिट्टै कस्मेटिक गाइनोकोलोजी सेन्टर सञ्चालन गर्ने छौं।’
डा. रश्मी अनुसार इम्पावर आरएफ मेसिनबाट महिलाहरुमा पिसाब चुहिने समस्या, यौन सम्पर्कको समयमा यौनांग सुख्खा हुने, सन्तान जन्माने क्रममा गरिने अप्रेसनको दाग तथा यौनांग तथा कम्मरमा हुने सेतो दाग, यौनांग कसिलो नहुने लगायतका समस्याको कस्मेटिक उपचार गरिने छ।
इम्पावर आरएफ मेसिनबाट समस्याहरुको इलेक्ट्रो म्याग्नेटिक स्टीमुलेसन (रेडियोफ्रिक्वेन्सी) विधिबाट बिना अप्रेसन पिसाब चुहिने, यौनांग कसिलो बनाउने लगायतका कस्मेटिक उपचार गरिने डा. रश्मीले जानकारी दिइन्।
महिनावारी, गर्भवती, सुत्केरी तथा उमेर बढ्दै जाँदा महिलाको हर्मोनमा हुने परिवर्तन तथा प्रजनन् अंग तथा शरीरमा हुने परिवर्तनले महिलाहरुको जीवनमा असर पर्ने भएकाले कस्मेटिक उपचारले यी समस्याहरु समाधान गर्न सकिने डा. मिराले बताइन्।
डा. मिराका अनुसार महिलाहरुको यौन जीवनमा परेको असर, पिसाब चुहिने समस्या, बच्चा पाइसकेपछि हुने समस्याहरुको पनि सर्जरी नगरि यो विधिबाट उपचार गर्न सकिन्छ।
आफूले उपचार गरेका धेरै महिलाहरुमा पिसाब चुहिने, यौनांग खुकुलो हुने, खोक्दा यौनांगबाट केही झरेजस्तो महसुस हुने लगायतका समस्या देखिरहेको डा. मिराले बताइन्।
यस्ता बिरामीहरुलाई सुरुमा गरौं भारी बोक्ने काम नगर्न र थेरापीको लागि सुझाव दिइने तर समस्या बढ्दै गएपछि सर्जरी नै गरेर उपचार गर्ने गरिएको डा. मिराले बताइन् ।
इम्पावर आरएफ मेसिनबाट गरिने उपचारले सर्जरी गर्न नपर्ने भएकाले सर्जरीबाट हुने जटिलताबाट जोगिन सकिने हुन्छ।