काठमाडौं, ०४ चैत २०७८
सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने औषधि दर्ता नियमावलीलाई चौथो पटक संशोधन गर्दै सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थप गरेको हो।
९६ वटा थप गर्दै यो औषधिको संख्या १९१ पुर्याइएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। यसअघि आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिको संख्या ९५ थियो।
नियमावलीमा अर्फान र बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने औषधिहरु समेत समावेश गरिएको छ। अर्फान रोगमा उपचार हुने ५५ र बेवास्ता गरिएका रोगको उपचारमा प्रयोग हुने २० वटा औषधि समावेश गरिएको केसीले जानकारी दिए।
उनका अनुसार अत्यावश्यक र आकस्मिक रुपमा प्रयोग हुने औषधिहरुको सूचीमा परिमार्जन गरिएको हो। पहिले अर्फान र बेवास्ता गरिएका औषधिहरु यसमा समावेश थिएनन्।
यसअघि यो नियमावलीमा अत्यावश्यक औषधि र आकस्मिक तथा जीवन रक्षक औषधि भन्ने उल्लेख थियो। औषधि ऐन २०३५ को दफा ४० अनुसार सरकारले औषधि दर्ता नियमावलीको चौथो पटक संशोधन गरेको हो।