काठमाडौँ, २२ कात्तिक २०८०
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट प्रभावित सञ्चार संस्था तथा पत्रकारलाई नेपाल पत्रकार महासङ्घले राहत उपलब्ध गराउने भएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले वैदेशिक शाखा र अन्य सङ्घ संस्थामार्फत राहत सङ्कलनका लागि पहल गर्ने जनाएको छ । भूकम्पले पत्रकार तथा सञ्चार क्षेत्रमा पारेको असर र श्रमजीवी पत्रकारको पक्षमा गरिएको आन्दोलनका विषयमा पनि छलफल भएको महासङ्घका अध्यक्ष विपुल पोखरेलले जानकारी दिनुभयो। पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र बनाउन महासङ्घले प्रयास गरिरहेको पोखरेल भनाइ थियो ।
अध्यक्ष पोखरेलले कान्तिपुर मिडिया ग्रुपले महासङ्घलाई विभिन्न आरोप लगाउनु भन्दा गैर कानुनी ढङ्गबाट निष्कासित गरिएका पत्रकारहरुलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन आग्रह गरे ।
महासङ्घका महासचिव रोशन पुरीले सङ्कलित राहत महासङ्घको केन्द्रीय समितिका पदाधिकारी, सदस्य तथा प्रदेश र जिल्ला समितिका पदाधिकारीबाट सङ्कलन गरेर प्रभावित क्षेत्रका सञ्चार संस्था र पत्रकारको विवरणका आधारमा वितरण गरिने बताए । पुरीले भूकम्पबाट दुई वटा सञ्चार संस्थाको भवन पूर्णरुपमा क्षति भएको जनाउँदै महासङ्घका दुई जना केन्द्रीय सदस्यसहित दर्जनौँ पत्रकारले बास गुमाएको बताए।