काठमाडौं, २९ पुस २०७९
थारू समुदायका लागि योगदान गर्ने चार जना थारू रत्न पुरस्कारबाट सम्मानित हुने भएका छन्। थारू आयोगले प्रदान गर्ने उक्त पुरस्कारका लागि छनौटमा परेकाहरूको नामवली शुक्रबार सार्वजनिक गरिएको हो।
थारू आयोगले स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका डा. राजन पाण्डे, थारू सँस्कृतिविद् एवं अनुसन्धानकर्ता महेश चौधरी, सामाजिक अभियन्ता एवं अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्थालाई थारू रत्न पुरस्कार दिने भएको हो।
डा. पाण्डे भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख हुन्। उनी थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्टसमेत हुन्। उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन-प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए।
त्यस्तै थारू गौरव पुरस्कारअन्तर्गत ७ जना सम्मानित हुने भएका छन्। जसअन्तर्गत खेलाडी विधामा जयरानी चौधरी, साहित्य विधामा बमबहादुर चौधरी, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, पत्रकारिता विधामा डा. कृष्णराज सर्वहारी, पूर्वकमलरी उर्मिला चौधरी, कलाकारमा गीता चौधरी र राज कुश्मी रहेका छन्।
उनीहरूलाई विशेष समारोहमा तक्मासहितको पुरस्कार प्रदान गरिने आयोगका सदस्य चौधरीले बताए। ‘थारू आयोगले वार्षिकोत्सवमा यी पुरस्कार प्रदान गर्ने तयारी गरेको थियो। तर प्राविधिक कारण आजमात्र घोषणा हुँदैछ। विशेष समारोहमा उहाँहरूलाई तक्मासहितको पुरस्कार प्रदान गरिनेछ,’ सदस्य चौधरीले भने। थारू आयोगले पुरस्कारका निम्ति कार्यविधि बनाए नामावली छनौट गरेको थियो।