डा . रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
कोरोना संक्रमण जोखिमको हिसाबले प्रदेश नम्बर २ निकै जोखिममा छ । देश संघियतामा गएको छ । हरेक प्रदेशलाई ठूलो रकम बिनियोजन गरिएको छ । त्यो अरबौं बजेट बाहेक कोरोना राहत कोषमा संकलित २ अरब जति बजेट प्रदेश नम्बर २ संग छ । प्रदेश नम्बर २ भारतको बिहारसंग जोडिएको, रोटीबेटीको सम्बन्ध भएको तथा खुला सिमाना भएको हुँदा जोखिम मानिएको हो । प्रदेश नम्बर २ मा थोरै मात्र परिक्षण गर्न मिल्ने तर त्यसको विश्वसनीयता कम भएको पोर्टेबल पिसिआर मेसिन मात्र छ । यसले निकै थोरैको परिक्षण गर्छ र रिजल्ट कन्फर्म गर्न स्याम्पल टेकु नै पठाउनु पर्ने अवस्था छ । प्रदेश नम्बर २ सरकार, त्यहाँका महानगरपालिका, उप महानगरपालिका, महानगरपालिका तथा गाउँ पालिका तथा आम बासिन्दालाई कोरोना नियन्त्रणका निम्न उपाय अबलम्बन गर्नुहुन अनुरोध गर्दछु ।
१. २ करोड खर्च गर्ने हो भने राम्रो पिसिआर मेसिनसहितको ल्याब स्थापना हुन्छ । तसर्थ कम्तीमा जनकपुर, बिरगंज र जलेश्वरमा ३ वटा उच्चस्तरीय ल्याब स्थापना गर्नु जरुरी छ ।
२. प्रदेश नम्बर २ मा रहेका एउटा महानगरपालिका, ३ वटा उपमहानगर पालिका, ७३ वटा नगरपालिका र ५९ वटा गाउँपालिका, ३२ वटा संसदीय क्षेत्र रहेका छन् । ती निकायमा अरबौं बजेट छ । जनचेतना, मास्क / साबुन / पंजा वितरण, जनचेतनाका कार्यक्रम, बोर्डरमा सिसिटिभी जडान, सुरक्षाकर्मीसंग स्थानीय सिमाबासीको गस्ती, धेरै सौचालय / पंखा / खानेपानी आदिको ब्यबस्था भएका सुबिधा सम्पन्न बोर्डर क्वारेन्टाइन केन्द्रको निर्माण, त्यहाँ रहेका ठूला अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको ब्यबस्था, पर्याप्त औषधिको भण्डारण लगायतलाई तत्काल प्रबन्ध गर्न सकिन्छ ।
३. सामाजिक दुरीलाई कडाइका साथ लागु गर्ने ।
४. भिडभाड हुने तरकारी बजार, माछामासु बजार आदि बन्द गरेर स्थानीय पसलबाट खरिदबिक्रिको प्रबन्ध गर्ने ।
५. बिहान / बेलुका धेरै मान्छे घरबाहिर निस्किने भएकोले दिउँसो ११-२ बजेसम्म मात्र पसल खोल्ने ब्यबस्था मिलाउने ।
६. प्रदेश नम्बर २ बाट चुनाब जितेर पटकपटक मन्त्रि, सांसद भएका राष्ट्रिय नेतालाई थप बजेट तथा राहतको लागि समन्वय गर्ने ।
७. प्रदेश नम्बर २ बाट प्रशाशनको माथिल्लो तहमा पुगेका व्यक्तिको ज्ञान, सिप तथा विज्ञताको उपयोग गर्ने ।
८. प्रदेश नम्बर २ मा चिकित्सक, नर्स, ल्याब टेक्निसियन, बिबिध स्वास्थ्यकर्मीहरु, माइक्रोबायोलोजिस्ट लगायतको प्राबिधिक जनशक्ति सबैभन्दा धेरै छ । उनीहरुलाई यो अभियानमा समेट्ने हो भने कोरोना संक्रमण नियन्त्रण प्रभावकारी हुन्छ ।
९. स्थानीय कृषकले उत्पादन गरेका खाध्य पदार्थ हरेक पालिकाले कृषि एम्बुलेन्सको ब्यबस्था गरि बजारीकरण गर्नुपर्दछ । साथै हरेक खाध्य पदार्थ थप उत्पादन गर्न कृषकलाई अनुदान, मल, बिउ, औषधिको ब्यबस्था गर्नुपर्दछ । उत्पादनलाई अभियानको रुपमा चलाएर कृषि बिमा तथा बजारीकरणको ग्यारेन्टी दिनुपर्छ ।
१०. प्रदेश नं २ सरकारले बिहार सरकार तथा सिमाना जोडिएका बिहारका स्थानीय निकायका पदाधिकारीसंग समन्वय गरेर असुरक्षित आवतजावत नियन्त्रण गर्ने, कोरोना नियन्त्रणको संयुक्त रणनीति बनाउने तथा औषधि उपकरण सहयोगमा समन्वय गर्नु जरुरी छ ।
.
प्रदेश नं २ नेपालको अन्न भण्डार हो । यो प्रदेशमा चुनौतीसंगै धेरै अवसर पनि छन् । अहिले प्रदेश सरकारको भूमिका जनतालाई रोग र भोकबाट बचाउनु हो । यसमा सबै जनाको पहल आबश्यक छ ।