✍️ डा. प्रदिप मिश्र, नवजात शिशु तथा बाल रोग विशेषज्ञ
गत डिसेम्बर महिना देखि चीनबाट सुरू भएर हाल संसारभर फैलिएको कोभिड – १९ महामारीले गर्दा सानासाना नानीबावुको विद्यालय बन्द छ । यसले एकातर्फ बालबालिकाहरुलाई कोभिड १९ को संक्रमणबाट तुलनात्मक रुपमा सुरक्षित छन । जुन हामी चिकित्सक एवम् अभिभावकहरुको लागि खुसीको कुरा हो । तर अर्कोतर्फ बालबालिकाहरुले कसरी आफ्नो दैनिकी बिताइरहेका छन ? यो एक वालरोग विशेषज्ञको नाताले एउटा सोचनिय प्रश्न हो ।
विद्यालयमा गएर अध्ययन गर्ने, साथी संगीसंग मिलेर खेलकुद एवम् अतिरिक्त क्रियाकलापमा भाग लिने बालबालिकाले घरमा के गरिरहेका छन ? त्यसैगरी यो महामारीमा त्रास बढिरहँदा प्राय खाना तथा नास्तामा जंक फुडले कत्तिको बाँस जमाइरहेको छ ? साथै मनोवैज्ञानिक रुपमा त्रास कतिको परेकोछ ? । यी तीन बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पार्ने प्रमुख कुरा हुन ।
समस्याहरु
कुपोषण ती बच्चाहरुको लागि अर्को समस्या हो। जसको सामाजिक आर्थिक स्थिति कमजोर छ। खाद्यान्न सुरक्षाको अभाव , कमजोर बित्तिय स्थिति , समानको बढ्दो दर र मापनका मुद्दा हुन । जुन परिवारले आफ्ना बच्चाहरूलाई पौष्टिक आहार लिन असमर्थ छ्न। जसले उनिहरुको स्वास्थ्यलाई असर गर्दछ र उनीहरु कुपोषणको खतरामा पर्दछ्न। लकडाउनको बेलामा बालबालिकाहरु घरमै बसेर कोरोनाको संक्रमणबाट त जोगिएका छन तर घरमा बस्दा कुनैपनि शारीरिक क्रियाकलाप सरिक नभै बस्नु, टिभी, मोबाइल र भिडियो गेम खेल्दै जंक फुड खाने प्रबृत्ति बढेको छ जसकाकारण मोटोपन पहिलो पंक्तिमा पर्ने समस्या हो । न्यून शारीरिक क्रियाकलाप र आरामदायी जीवनशैलीले तौल बढ्दै जान्छ । साथै सन्तुलित आहार नखाने समस्या अहिलेको परिस्थितिमा मोटोपनको साथै अन्य समस्याहरु निम्त्याउँछन ।
मोटोपन पछिको अर्को समस्या उनीहरुको बौद्धिक बिकासमा असर पर्नु हो । असन्तुलित र आहार आलिसान जीवनशैली र बढी भन्दा बढी इलेक्ट्रोनिक सामाग्रीसंग समय बिताउँदा बौद्धिक बिकासमा असर पर्छ । साथै विश्वभर संक्रमित तथा मृत्यु हुनेको खवरले बालबालिका मानसिक रुपमा पनि आत्तिएका देखिन्छन । यी सबै कुरा बालबालिकाको बिकासका दुष्चक्रका प्रमुख घटक हुन ।
समाधान :
१. आलुचिप्स, बिस्कुट, चाउचाउ, चक्लेट जस्ता बजारजन्य खानेकुराहरु मोटोपनका प्रमुख खाद्य बस्तु हुन । यस्ता खानेकुराहरु न्यून गर्ने र नियमित समयचक्रमा सन्तुलित आहार सेवन गर्ने ।
२. स्क्रिन टाईमा वा इलेक्ट्रोनिक सामाग्रीहरु जस्तो मोबाइल, टिभीमा बिताउने समय घटाउने । यो समयमा घरमा उपलब्ध खेलकुदका सामाग्री सबै पारिवारिक सदस्य बालबालिका संग खेल्ने । अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्सले दिएको सिफारिस अनुसार १८ महिना भन्दा कम उमेरका बच्चालाई यस्ता सामाग्री हेरनै नदिने र पाँच वर्ष सम्मकालाई दैनिक एक घण्टा भन्दा बढी नदिने । त्यसैगरी अन्य बच्चालाई अभिभावकको निग्रानिमा मात्रै प्रयोग गर्न दिने ।
३. खानेकुरा खाने बेलामा बालबालिकालाई टिभी मोबाइल हेर्न नदिने र हेरेको बेलामा खानेकुरा खान नदिने ।
४. नियमित रुपमा व्यायाम गर्ने । कम्तिमा एक दुई घण्टा घरभित्रै योगा वा शारीरिक व्यायाम गर्नु पर्दछ ।
५. खाली समयमा चित्र बनाउने, पुस्तकहरु पढ्ने, हेन्ड राइटिङको अभ्यास गर्ने , सामान्य ज्ञान तथा उपलब्ध पुरानै भएपनि पत्रपत्रिका पढ्ने बानी बसाल्नु पर्दछ ।
६. बालबालिकाहरु मानसिक रुपमा धेरै डर त्रासमा रहेको यो अवस्थामा अभिभावकले उत्प्रेरणा मुलक कथा, कविता, तथा अन्य सामाग्री सुनाउने / देखाउने गर्नु पर्दछ जसबाट बालबालिकामा रहेको भय निर्मुल होस् ।
यो संकटको समयमा बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने जिम्मेवारी अभिभावकको हो । बालबालिकालाई घरमै रमाउन सक्ने वातावरणको सिर्जना गर्नुपर्दछ ।
डा. मिश्र हाल : सेती प्रादेशिक अस्पताल र निसर्ग अस्पतालमा कार्यरत हुनुहुन्छ ।
Comments 1