जुम्ला, १७ असार २०८०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टार पदमा डा. डबल बहादुर धामी नियुक्त भएका छन्।
प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा. धामीलाई रेक्टारमा नियुक्त गरेका हुन्।
मन्त्री बस्नेतले प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको सिफारिसका आधारमा डा. धामीलाई नियुक्त गरेका हुन्। उपकुलपति डा. रावलले डा. धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए। जसमा डा. धामी, डा. भुमिराज क्षेत्री र डा. कुशल भट्टराईको नाम सिफारिस भएको थियो।
यसअघि रेक्टारका लागि अन्य तीन जनाको नाम सिफारिस भएको थियो। तर मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा. रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका हुन्। उपकुलपति डा. रावलले रेक्टरका लागि यसअघि डा. राजिव शाह, डा. माया राई र डा. अनुस्मृती पालको नाम सिफारिस गरेका थिए।