काठमाडौं, ४ फागुन २०७९
सिलिन्डर ग्यास बिस्फोटमा जलेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईमा लगिएको छ।
खाना पकाउने ग्यास विस्फोटमा घाइते भएका उनलाई कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरका चिकित्सकहरुको परामर्श अनुसार बिहीबार दिउँसो थप उपचारका लागि श्री एयरको विमानमार्फत् भारत पठाइएको हो।
सुविधासम्पन्न अस्पतालमा उपचार गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएपछि सांसद डा. भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको कांग्रेस सांसद प्रदिप पौडेलले जानकारी दिए।
सोही घटनामा परी गम्भीर घाइते सांसद भण्डारीकी आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुरस्थित नेपाल बर्न सेन्टरमा निधन भएको थियो।
यसअघि सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, पूर्वमहामन्त्री डा. शशांक कोइरालासहित विभिन्न राजनीतिक दलहरु नेताहरु, पूर्वमन्त्रीहरु, सांसदहरु सोही अस्पताल पुगेका थिए।
सांसद भण्डारीको करिब ३० प्रतिशत शरीरको भाग जलिसकेको चिकित्सकहरुले बताएका छन्।
डा. भण्डारीको उपचारमा डा. प्रदिप तिवारी (critical care head), डा. वृहस्पति (Anesthesia critial care), डा. रोसन शर्मा (Flight doctor EMS), दिनेश राई (Paramedics) इन्जिनियर सागर महर्जन (Paramedics) र इन्जिनियर राज तामाङ (Paramedics) मेडीकल टिम सहित मुम्बई प्रस्थान गरेका छन्।