काठमाडौं, ७ असार २०८०
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. भुपेन्द्र बहादुर बस्नेत नियुक्त भएका छन्।
न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बस्नेतलाई न्याम्सको उपकुलपतिमा नियुक्त गरेका हुन्।
न्याम्सको निमित्त उपकुलपतिको रुपमा रहेका डा. बस्नेतले उपकुलपतिको जिम्मेवारी सहितको पत्र बिहीबार नै बुझेका छन्।
प्रधानमन्त्री एवं न्याम्सका कुलपति दाहालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ दफा १८ को उपदफा (२) बमोजिम सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्यीय सर्च कमिटी गठन गरेका थिए।
उक्त कमिटीले उपकुलपतिका लागि लागि आवेदन आह्वान गरेको थियो। न्याम्सको उपकुलपतिका लागि गठित समितिले ११ जनाको आवेदन परेको थियो।
न्याम्सको उपकुलपतिका लागि न्याम्सका निमित्त उपकुलपति प्राडा. भुपेन्द्र बहादुर बस्नेत, न्याम्सका पूर्व डिन डा. पियुष दाहाल, वीरकै पूर्व निर्देशक प्राडा. बुलन्द थापा, वीर अस्पतालका रेडियोलोजी विभागका प्रमुख प्राडा. सरोज शर्मा, प्राडा. अनिल मिश्र, डा. दीपक थापा, डा रेवती रमण मल्ल, डा. प्रवीण श्रेष्ठ, कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा. अजित रायमाझी, प्रसूति तथा स्त्री रोग अस्पतालका पूर्व निर्देशक डा. अमिरबाबु श्रेष्ठ र डा. दीर्घराज जोशीले आवेदन दिएका थिए।
उक्त कमिटीले आवेदन मध्येबाट तीन जनाको नाम न्याम्सका कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। न्याम्सका कुलपति एवं प्रधानमन्त्री दाहालले तीनजना मध्येबाट डा. भुपेन्द्र बस्नेतलाई न्याम्सको उपकुलपति बनाएका छन्।