डोटी, ३० जेठ २०७९
डोटी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा जडान भएको अक्सिजन प्लान्टको सोमबार प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उद्घाटन गरेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा डोटी लगायत सुदूरपश्चिममा अक्सिजनको चरम अभाव भएपछि प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ को वजेटमा अक्सिजन प्लान्टका लागि ८० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले अक्सिजन प्लाण्ट जडानका लागि टेण्डर आह्वान गरी प्रक्रिया अगाडि बढाएको डोटी जिल्ला अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताउनुभयो।
नेपालीले ६५ लाख रुपैयाँको लागतमा उक्त प्लाण्ट जडान भएको जानकारी दिनुभयो । अक्सिजन प्लाण्ट जडान भइसकेपछि जिल्लामा आउने बिरामीहरुको उपचारमा सहज हुने अध्यक्ष नेपालीको बिश्वास छ ।
कार्यक्रममा अध्यक्ष नेपालीले अस्पतालमा इन्डोस्कपी सेवा र विशेष चिकित्सा सेवा सुरु गर्नका लागि आफूले प्रयास गरिरहेको वताए । संघीय र प्रदेश सरकारका माननीय मन्त्रीहरु र सांसदहरुसंग हामीले अनुरोध गरिरहेको र यसमा सबैको सहयोगको आवश्यकता रहेको नेपालीले बताए।
प्लान्टको उद्घाटनको क्रममा मन्त्री रैकाले जिल्ला अस्पताललाई शव वाहन र एम्वुलेन्स उपलव्ध गराउने बिषयमा मन्त्रालयमा छलफल भएको बताए । खरिद प्रक्रिया पूरा गर्दा दुई/तीन महिना लाग्छ होला’ मन्त्री रैकाले भने ‘तर जिल्ला अस्पतालका लागि एम्वुलेन्स र शव वाहन पक्कै आउँछ । आर्थिक बर्ष ०७९/०८० भित्रै डोटी जिल्लामा डायलासिस सेवा पनि सुरु हुने बताए ।
जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन श्रेष्ठले अक्सिजन सञ्चालनमा आएपछि विरामीहरुलाई अक्सिजन आपूर्ति गर्न सहज हुने बताए । अब पाइपको माध्यमबाट बेडमै अक्सिजन पुर्याइनेछ’ डा. श्रेष्ठले भने ‘यस प्लान्टबाट प्रत्येक २४ घण्टामा करिब १० सिलिण्डर अक्सिजन उत्पादन हुने हाम्रो अनुमान छ ।