काठमाडौं , २१ जेठ
काठमाडौंको जोरपाटीस्थित नेपाल मेकिडल कलेजमा चिकित्सकमाथि भएको आक्रमणविरुद्ध बुधबार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकहरुले विरोध गरेका छ्न । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले हातमा कालोपट्टि बाँधेर बिरोध गरेका थिए।
अस्पतालका चिकित्सकहरुले दुर्व्यवहार गर्नेमाथि कारबाही माग समेत गरेका छन् ।
नेपाल मेडिकल कलेजमा जेठ १४ गते उपचार गराउन ल्याएका एक बिरामीको ज्यान गएको थियो । उक्त घटनामा चिकित्सक दोषी भएको भन्दै बिरामीका आफन्तले हातपात गरेका थिए ।
उक्त घटनाको विरुद्ध प्रदर्शनमा उत्रिएका भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ‘चिकित्सकमाथि आक्रमण गर्नेलाई धरौटीविना जेल’, ‘दण्डहीनताको अन्त्य गर’, ‘स्वास्थ्यकर्मीमाथि हुने आक्रमणविरुद्ध ऐन ल्याऊ’लगायत लेखिएको प्लेकार्ड बोकेका थिए । उक्त प्रदर्शनपश्चात पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु हातमा कालोपट्टि बाँधेर काममा खटिएका छन् ।
उनीहरुले सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रत्याभूति गर्न सरकार र चिकित्सकसँग सम्बन्धित संघसंगठनहरुसँग माग गरेका छन् ।