बैतडी, ०१ जेठ २०८०
जिल्ला अस्पताल बैतडी देशभरकै उत्कृष्ट अस्पताल बनेको छ । अस्पतालले भौतिक पूर्वाधार देखि उच्च गुणस्तरका स्वास्थय उपकरणबाट सेवा दिदै देशभरमै उत्कृष्ट अस्पताल बन्न सफल भएको हो ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय द्धारा प्रत्येक छ महिनामा गरिने सो मूल्याङ्कनमा ९५ प्रतिशत अङ्क ल्याएर जिल्ला अस्पताल बैतडी देशभरमै न्यूनतम सेवामापदण्डमा प्राथमिक अस्पतालहरू मध्ये अग्र सुचीमा पर्न सफल जिल्ला अस्पतालका सुचना अधिकारी चन्द्र सिंह डोबालले बताए ।
यसअघि ८९ प्रतिशत मात्रै अङ्क ल्याएको अस्पतालले यो वर्ष ९५ प्रतिशत ल्याएर अग्र स्थानमा उक्लिएको डोबालले बताए । अस्पतालाई देशभरिमै प्रथम स्थानमा पार्न अस्पताल व्यवस्थापन समिति, डाक्टरहरु, स्वास्थ्यकर्मी, स्थानीय निकाय, समुदाय, सेवाग्राही, संघ–संस्था, सञ्चारकर्मी, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय लगायतका पक्षको महत्वपुर्ण भूमिका रहेको उनले बताए । अस्पताललाई न्युनतम सेवामापदण्डमा पहिलो स्थानसम्म पुर्याउन समिति, डाक्टरहरु, स्वास्थ्यकर्मी, स्थानीय निकाय, समुदाय, सेवाग्राही, संघ–संस्था, सञ्चारकर्मी, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायले अग्र स्तरमा भूमिका खेलेको उनले बताए।
जिल्ला अस्पताल बैतडीमा पछिल्लो समय विशेषज्ञ सेवा प्रदान भैरहेको छ । अहिले जिल्ला अस्पताल बैतडीमा पाँच जना विशेषज्ञ डाक्टर सहित ११ जना डाक्टरहरु कार्यरत छन् । जिल्ला अस्पतालमा अहिले हाडजोर्नी, नाक कान घाँटी, एनेस्थियोलोजीष्ट, डेन्टल सर्जन, एमडीजीपी र बालरोग गरेर ५ जना विशेषज्ञहरुले सेवा दिइरहेका डोबालले बताए।