काठमाडौं, २४ असोज २०८२
काठमाडौं महानगरपालिकाले बर्षा याममा महामारीका रुपमा फैलिने डेङ्गी महामारी नियन्त्रणका लागि अघि सारेको बहुसाझेदार कार्यक्रमले सकारात्मक नतिजा देखाएको छ ।
महानगरपालिका क्षेत्रभित्रको तथ्याङ्क हेर्दा अहिले डेङ्गी संक्रमणको दर घटेको देखिएको छ । २०८० सालको असारदेखि २०८१ सालको साउन मसान्तसम्म महानगरपालिकाभित्र ३ हजार ५८६ जनामा डेङ्गी संक्रमण भएको थियो । यो संख्या गएको बर्ष (२०८१ साउनदेखि २०८२ असारसम्म) बढेर ५ हजार ६३७ पुगेको थियो । यस वर्ष गएको साउनदेखि अहिलेसम्म ३४९ जनामा यो संक्रमण देखिएको छ । मध्य बर्खाको समयमा ३५० जनाभित्र संक्रमण भएका व्यक्तिको संख्या सीमित हुनु नियमित कार्यक्रमको नतिजा हो ।
यसका लागि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयमसेवक, टोल विकास संस्था, स्थानीय तथा सामाजिक संघसंस्था, क्लव र नागरिक स्तर प्रतिनिधिहरु महानगरपालिकाको डेङ्गी नियन्त्रण अभियानमा सँगै हुनुहुन्छ । उहाँहरु लामखुट्टेको बासस्थान नष्ट गर्नु अभियानमा सदैब क्रियाशील हुनुहुन्छ । यो अभियान निरन्तर चलिरहेको छ । यसअन्तर्गत महानगरपालिकाको केन्द्रीय कार्यालयसँगै सार्वजनिक सेवा प्रदायक कार्यालय, वडा र समुदाय स्तरमा लार्भा तथा लार्भा उत्पादन हुन सक्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानको मुख्य भूमिका छ । अभियानको अर्को पक्ष र्यापिड रेस्पोन्स टीम (आरआरटी) गठन पनि हो । यो टीमले विरामीको उपचारमा सहजीकरण गर्ने, समस्या समाधानका लागि परामर्श दिने, रोग पहिचान गर्ने लगायत काम गरिरहेको छ ।
माइकिङ् गर्ने, विद्यालयका विद्यार्थीलाई जोखिमका बारेमा थाहा दिने, टोल, समुदाय र घर दैलो कार्यक्रममार्फत हरेक नागरिक समक्ष पुग्ने र उहाँहरुलाई डेङ्गी नियन्त्रण अभियानमा सहभागी हुन प्रोत्साहित गरिरहेका छौँ ।
वातावरण व्यवस्थापन विभागले सरसफाइ र स्वच्छताका कार्यक्रमलाई थप प्रभावकारी बनाउने, स्वास्थ्य विभागले स्वास्थ्य प्रवर्धन केन्द्रमार्फत निदानात्मक र उपचारात्मक सेवामा र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) सेवा दिने, जीवन जल, सिटामोल जस्ता औषधि उपलब्ध गराउने, चौबिसै घण्टा टेलिफोनबाट परामर्श दिने, नगर प्रहरी बलले लार्भिसाइड छर्किने काम गरिरहेका छन् । यस्तै बिरामीहरूलाई आवश्यक पर्ने रगत र रक्त तत्वका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरेर निःशुल्क उपलब्ध गराउने गरिएको छ । यससँगै अस्पताल जानका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।
मेयर बालेन्द्र साहले फेसबुक सञ्जालमा लेख्दै हामी चनाखो छौँ । नागरिक स्वास्थ्य सुरक्षाको उत्तरदायित्वप्रति जिम्मेवार छौँ । र, नियमित काम गरिरहेका छौँ । यति हुँदाहुँदै पनि महामारी नियन्त्रण हाम्रो मात्र प्रयासले सम्भव छैन । यसका लागि हरेक व्यक्तिले आफ्नो बासस्थान र परिसरमा डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्न आवश्यक छ । विरामीको सहज उपचार सेवाका लागि प्रदेश र संघ सरकारको सहकार्य आवश्यक छ । यसका लागि हामी प्रयासरत छौँ । र, सहकार्यमा काम गरिरहेका छौँ ।
यसर्थ, अहिलेसम्म नियन्त्रणमा रहेको डेङ्गीको जोखिम बढ्न नदिन हरेक व्यक्ति र समुदायसँग सहकार्यका लागि अनुरोध गर्दछौँ ।
सबै मिलेर महामारी नियन्त्रण गरौँ ।