डडेल्धुरा, २५ मंसिर २०८१
डडेल्धुरा अस्पतालमा पहिलोपटक डायलासिस सेवाको परीक्षण भएको छ।
डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाका अनुसार सोमबार अस्पतालको नयाँ भवनमा एक जनाको सफल डायलाइसिस परीक्षण भएको छ । डडेल्धुरा मात्रै नभएर सुदूरपश्चिमका ७ पहाडी जिल्लावासीले अब धनगढी जानु नपर्ने अध्यक्ष ओझाले बताएका छन् ।
डडेल्धुरामै डयलासिसको उपचार भएसङ्गै बिरामीको केही मात्रामा भएपनि खर्च बच्ने अध्यक्ष ओझाले बताए ।
डडेल्धुरामा स्वास्थ्य विभागबाट दुई वर्षअघि हेमोडायलाइसिसका ५ वटा उपकरण प्राप्त भएको थियो । तर, प्रर्याप्त पूर्वाधार तथा जनशक्ति अभावमा डायलाइसिस सेवा सुरु गर्न नसकिएको अध्यक्ष ओझाले बताए।
सोमबार डायलाइसिसको सफल परीक्षण पश्चात अब सेवा नियमित हुने उनले बताए । ‘हामीले सफल परीक्षण गरेका छौं । अब स्वास्थ्य विभागमा सूचीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि सेवाग्राहीको तथ्यांक लिएर हामीले रिपोर्ट तयार गरेर पठाउने छौं । त्यसपछि विभागबाट अनुगमन भएर हामीलाई अनुमति प्राप्त हुन्छ’ ओझाले भने ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र कुमार खनालका अनुसार सूचीकृत हुन करिब एक हप्ता लाग्ने अनुमान गरिएको छ । अनुमति पाएपछि डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका करिब २५ जना बिरामीले डडेल्धुरा अस्पतालबाट सेवा पाउने डा. खनालले बताए । ‘अहिले हामीसँग डायलाइसिस गर्ने १५ जनाजतिको दक्ष जनशक्ति छ । सेवा सुरु भएपछि एकैदिनमा हामी ४ जना बिरामीलाई सेवा दिन सक्षम हुनेछौं’ डा. खनालले भने ।
डा. खनालले डायलाइसिस सेवाको शुभारम्भ गरेसँगै यस क्षेत्रका विपन्न नागरिकलाई उपचारमा सहजता हुने बताए।
अस्पतालले यसका साथै तीन वटा बिभाग पनि थप गरेको छ। यौन तथा चर्म रोग बिभाग, नाक कान र घाँटी बिभाग र मानसिक बिभागबाट पनि ओपिडी सेवा दिइने डा. खनालले बताए।