धनगढी , ११ माघ २०७७
सुदुरपश्चिम प्रदेशमा संघीय सरकारले १६ हजार बढीलाई पुग्नेगरि कोरोना भाइरस विरुद्धको खोपको लागि १० वटा केन्द्र तोकिको छ।
सामाजिक विकास मन्त्रालयले कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुरलाई खोप केन्द्र रुपमा तोकेको छ । अन्य जिल्लाको हकमा भने जिल्ला अस्पताललाई खोपकेेन्द्र तोकेको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले बताउनु भयो।
संघीय सरकारको स्वास्थ्य सेवा विभागले रेफ्रिजेटर भ्यान मार्फत आइतबार प्रदेशका १६ हजार २ सय ९३ जनालाई लगाउन मिल्नेगरि कोरोना विरुद्धको खोप पठाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।
एक दुई दिन भित्र खोप सुदूरपश्चिम पुग्ने भएकाले त्यसका लागि आन्तरिक व्यवस्थापनको काम समेत थालिएको उनले बताए । प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम् सेविकालाई प्राथमिकतामा राखेर खोप, अभियानकै रुपमा सञ्चालन गर्ने तयारी गरेको छ ।
प्रवक्ता कार्कीका अनुसार पहिलो चरणमा खोप लगाउन १६ हजार २ सय ९३ जना स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको छ । उनीहरुलाई माघ १४ गतेदेखि १८ गतेसम्म पहिलो चरणको खोप लगाइने कार्कीले बताए । यसअघि खोपका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले १४ हजार ६ सय ६६ स्वास्थ्यकर्मी र १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क संकलन भएको जनाएको थियो । खोप लगाउन स्वास्थ्यकर्मीको तथ्यांक संकलन गरिएको भएपनि स्वच्छीक बाहेक कसैलाई पनि बाध्यकारी नहुने बताइएको छ ।
Comments 1