काठमाडौं, ७ जेठ २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पतालसँग विवरण माग गरेको छ।
मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णय अनुसार मन्त्रालयले कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।
कोभिड-१९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सञ्चालन शव व्यवस्थापनमा प्रतेयक्ष रुपमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, सफाइकर्मी र सुरक्षाकर्मीको विवरण व्यवस्थित गर्ने र प्रमाणित अभिलेखका आधारमा भत्ता उपलब्ध गराइने मन्त्रायले पठाएको पत्रमा उल्लेख छ।
मन्त्रालयले कर्मचारीको नाम, पद, कर्मचारी संकेत नम्बर, कोभिडमा खटिएका कर्मचारीको ड्यूटी रोष्टर, स्थायी लेखा नम्बर, बैंक खाता नम्बर र वैशाख महिनाको पेरोल विवरणमा उल्लेख गर्न भनेको छ।