काठमाडौं,२० जेठ २०७८
कोभिड माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै दक्षिणकाली नगरपालिकाले निशुल्क उपचार गर्दै आइरहेको छ।
चाल्लाखेक स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ३० बेड अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ। जसमा अक्सिजनको अलावा एक्स-रे र प्रयोगशाला सेवा समेत प्रदान गरिदै आएको छ । यस केन्द्रमा ३८ जना कोभिडका बिरामीहरु भर्ना भएका थिए। जसमध्ये १३ जना उपचाररत छन् भने २५ जनाले कोरोना जितेर घर फर्केका नगरपालिकाका कोभिड तथा सिआइसिटी प्रमुख विष्णु लामिछानेले बताए।
उक्त नगरपालिकाले आफ्नो जनशक्ति अपुग भएपछि १ जना मेडिकल अफिसर , ४ जना स्टाफ नर्स र १ जना ल्याव असिष्टेन्ट करारमा भर्ना गरेको लामिछानेले बताउनुभयो।
लामिछानेका अनुसार हाल आइसोलेसन सेन्टरमा तीनजना मेडिकल अधिकृत, १२ जना स्टाफ नर्स र ७ जना परामेडिक्सको जनशक्तिले सेवा दिदै आइरहेको छ । नगरपालिकाले भर्ना भएका बिरामीहरुलाई सम्पुर्ण सेवाहरु निःशुल्क प्रदान गरिरहेको छ।
उक्त नगरपालिकाले कोरोनाको विषम परिस्थितिमा एम्बुलेन्स सेवा पनि निःशुल्क गरेको छ । नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले आफु प्रयोग गर्दै आइरहेको गाडीलाई समेत कोभिडका बिरामीलाई ओसारपसारको रुपमा सेवा प्रदान गर्दै आइरहेको छ।
त्यस्तैगरी दक्षिणकाली नगरपालिका वडा न १ मा रहेको सीता प्रोडक्सन प्रा लि ( अक्सिजन उत्पादन कम्पनी ) लाई कोभिड अवधिभर अक्सिजन उत्पादन को लागि आवश्यक पर्ने पानीको आपूर्ति २४ घण्टा गर्ने र उक्त पानीको शुल्क नलिने गरि ब्यवस्था गरेको छ ।
होम आइशोलेसनमा रहेका कुनैपनि बिरामीलाई चिकित्सकको सल्लाह बमोजिम अक्सिजन चाहिने भएमा घरमै अक्सिजन सिलिन्डर उपलब्ध गराइरहेको छ। बिरामीहरुलाई स्वास्थ्यकर्मी र जनप्रतिनिधि तथा स्वास्थ्य स्वयंसेविकाको टोली घरमै गएर स्वास्थ्य सेवा परामर्श दिइरहेका छन् ।
कोभिडका शंकास्पद बिरामीहरुको आवश्यकता अनुसार कन्ट्याक्ट ट्रेसिङ र एन्टिजेन परिक्षणको काम पनि भइरहेको पनि लामिछानेले बताउनुभयो।