काठमाडौं, २ जेठ २०७८
नेपालमा लगातार चौथो दिन कोरोनना संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो चौबीस घण्टामा सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । यस अवधिमा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आईतबार कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ जना कोरोनामुक्त भएको जनाएको छ । सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
जेठ १ गते संक्रमितको संख्या आठ हजार ४६ थियो भने वैशाख ३१ गते शुक्रबार यो संख्या आठ हजार ४६७ जना थियो । यस्तै वैशाख ३० गते आठ हजार ८४२ जना र वैशाख २९ गते नौ हजार २३८ जना थिए । लगातार संक्रमितको संख्या घटेपछि संक्रमणको चेनब्रेक भएको अनुमान विशेषज्ञले गरेका छन् । तर अझै पनि पथ केही दिनको तथ्यांकका आधारमा यसलाई आधिकारिक रुपमा घट्दो दर भन्न सकिने उनीहरुको भनाई छ ।