काठमाडौं ,२५ श्रावण २०७७
पछिल्लोचौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर डौतमले काठमाडौँमा ९० र ललितपुरमा २ सहित ९२ जनामा कोरोना संक्रमण देखिएको बताए ।
उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँका ४४ र ललितपुरका १ जनामा संक्रमण देखिएको थियो । यस्तै शुक्रराज अस्पताल टेकुमा काठमाडौँका १८, पाटनमा ५ जना, कोरिया मैत्री अस्पतालमा काठमाडौका १, वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका १ जना र ह्याम्स अस्पतालमा काठमाडौंका ८ जनामा सक्रमण देखिएको छ ।
यस्तै स्टार अस्पतालमा काठमाडौँका १३ र ललितपुरको १ जनामा संक्रमण देखिएको छ।
नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।
कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।