काठमाडौं, १० भाद्र २०७७
काठमाडौं उपत्यकामा तीन सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौ उपत्यकामा ३०१ सहित देशभर ८८५ जनामा कोरोनाको संक्रमण देखिएको बताए।
डा जागेश्वर गौतमले काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ गरी ३०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
यो एक दिनमा उपत्यकामा देखिएको अहिलेसम्मकै सबैभन्दा बढी हो ।
उनले पछिल्लो चौविस घण्टामा देशभर २९९ जना महिला र ५८६ जना पुरुष गरी कुल नयाँ ८८५ जनामा संक्रमण देखिएको बताए । यहि अवधीमा विभिन्न जिल्लाहरुमा उपचार गराईरहेका ११ जना कोरोना संक्रमितको निधन भएको समेत जानकारी दिए ।