काठमाडौं , २४ असार
पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको दर बढ्दै गएको छ । कोरोना संक्रमण थपिरहँदा पनि काठमाडौंबासीले स्वास्थ्य सुरक्षाका लागि अपनाउनु पर्ने सावधानीका विषयमा बेवास्ता गरेको देखिन्छ । पछिल्लो केही दिन यता काठमाडौंमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ ।
काठमाडौं उपत्यकाको ठेगाना राखेका हालसम्म २६७ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकमा कोरोना देखिनेमा ७९ जना विदेशबाट आएका छन् । हालसम्म विदेशबाट भारतबाहेक १७ हजार नेपाली आएका छन् ।
विदेशबाट जहाजमा नेपाल आउनेहरु तीन तरिकाबाट कोरोना परीक्षण गरेर आएको देखिन्छ । आरटी पीसीआर गरेर आउने ३५ प्रतिशत छन् । तर, आरटी पीसीआर गरेको सातदिन मात्र भएको छ अन्य मानिससँग सम्पर्क भएको छैन भने हामीले होम क्वारेन्टिनमा जान दिन्छौं । आरटी पीसीआर गरेको छ तर अन्य मानिससँग सँगै बसेर आएको छ भने क्वारेन्टिनमा राख्ने गरेका छौं ।
विदेशबाट स्वदेश आएका ३५ प्रतिशतले आरडीटी परीक्षण गरेर आएका छन् । अर्को निरोगिता प्रमाणपत्र लिएर आएकाहरु हुन्छन् । केही पनि स्वास्थ्य परीक्षण नगरी लक्षण लिएरसमेत आएको पाइयो । उनीहरुलाई विमानस्थलको नै हेल्थ डेस्कबाट तुरुन्त अस्पताल लैजाने गरिएको छ ।
आरडीटी र निरोगिता प्रमाणपत्र लिएकाहरुलाई घर जान दिइँदैन । उनीहरुलाई आर्मी र सुरक्षाकर्मीले क्वारेन्टिनमा लैजाने गर्छन् । विदेशबाट आएका कोरोना संक्रमितहरु अधिकांश लक्षणविहीन छन् ।
विदेशबाट आएका होल्डिङ् सेन्टरमा आफैं पैसा तिरेर विभिन्न अस्पतालबाट स्वाब दिने र परीक्षण गराउने गरेका छन् । पीसीआर गरेर कोरोना परीक्षण गरेर नेगेटिभ देखिएमा घर जान पाउने भनेर पनि आफैं परीक्षण गराउन थालेका छन् । काठमाडौं बाहिरबाट गाडी चढेर लुकिछिपी आउने गर्दा पनि संक्रमण भएको देखिन्छ । विभिन्न कारणले शल्यक्रिया गर्नुपर्ने व्यक्तिहरुमा कोरोना देखिएको छ ।
Comments 2