चितवन , ३२ साउन २०७७
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित चितवनका थप ३ जना चिकित्सकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । डा.श्रीराम तिवारीसहित प्रसुति विभागका प्रमुख डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक कृपा पौडेलमा कोरोना संक्रमण पुष्टी भएको हो ।
भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्स र सघन उपचार कक्षमा कार्यरत चिकित्सकहरुमा कोरोना पोजेटिभ देखिएपछि त्यहाँ कार्यरत अन्य ७० जना स्वास्थ्यकर्मी तथा बिरामीको स्वाब संकलनगरी परीक्षण गरिएको थियो ।
त्यसपछि भरतपुर अस्पतालमा कार्यरत ३ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएको हो । परिक्षणमा शनिबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ६ जना, भरतपुरकै नारायणी सामुदायिक अस्पतालमा कार्यरत एक जना तथा सेन्ट्रल अस्पतालबाट स्वाब संकलन गरिएका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
यससँगै चितवनमा अहिलेसम्म दुई दर्जन बढी स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित बनेका छन् । शनिबार राती चितवनका २७ सहित २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । यस्तै नर्समा कोरोना संक्रमण देखिएपछि सिल गरिएको भरतपुर अस्पतालको आकस्मिक कक्ष गएरातिबाट सञ्चालनमा ल्याइएको छ ।