काठमाडौं ,२१ जेठ २०७९
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागेको शुक्रबार जानकारी दिए।
खतिवडाका अनुसार सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने र त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने छ।
तोकिएको २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ। त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान संचालन हुनेछ।
मन्त्री खतिवडाले भने ११ वर्षमुनिका बालबालिकालाई दिइने खोप खरिद प्रक्रियामा छ र जसको मूल्य ६ अर्ब बढी पर्नेमा स्वास्थ्य मन्त्रालयको निरन्तर प्रयास र समन्वयपछि फाइजर खोप कोभ्याक्स सुविधामार्फत निशुल्क प्राप्त हुन लागेको हो।