भक्तपुर, २१ बैशाख २०८१
चाँगुनारायण नगरपालिकाले किसान कार्ड लागू गर्ने भएको छ । मेयर जीवन खत्रीले नगरपालिकाले किसानलाई मल, बिउ विजनका साथै प्राबिधिक एबं कृषीमा नगरबासीलाई प्रोत्साहन गर्न आगामी आर्थिक वर्षबाट किसान कार्डको ब्यबस्था मिलाउन किसान तथ्यांक संकलन गरिरहेको बताउनुभयो ।
मेयर खत्रीका अनुसार किसान कार्डको लागि आगामी जेठ मसान्त सम्मको लागि घर घरमा किसान तथ्यांक संकलकहरू परिचालन गरिसकिएको छ र छिट्टै किसान कार्ड उपलब्थ गराई किसानलाई समयमा आवश्यक मल, बिउ बिजन, प्राबिधिक एबं अन्य सहयोग उपलब्ध गराउन नगरपालिका जुटिसकेको र काममा खटी आउने कर्मचारीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो ।
मेयर खत्रीका अनुसार कृषी क्षेत्रमा आबद्ध हुने किसानले अहिले भोग्नुपरेको समस्या आगामी दिनमा नहुने बताउँदै भन्नुभयो, यो कार्यका लागि सबैले सकारात्मक बिश्वासका साथ अघि बढ्न र सहयोग गर्नुपर्ने खाँचो छ । किसानले अहिले भोगेको समस्या सामाधानमा नगरपालिका लागेको र सो कार्य नगरबासीको सहयोग बिना सम्भव नहुने उहाँले बताउनुभयो ।
यसअघि पनि नगरपालिकाका मेयर खत्रीले कृषि, पशुुपक्षी विकास र सहकारी शाखाका प्रमुखसहितको सहभागितामा रासायनीक मल वितरणमा गुनासो नआउने गरि कृषकको गुनासो सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्यका साथ अनुदानको मलको लागि स्वीकृति पाएका सहकारी संस्थाका प्रतिनिधि तथा कृषकहरुसँग छलफल गर्नु भएको थियो ।
अघिल्लो वर्ष प्रदेशबाट ४ सय बोरा मल आएकोमा यो पटक ९ सय बोरा रासायनीक मल ल्याउन सफल भएको मेयर खत्रीले बताउनुभयो । नगरपालिकाले आगामी दिनमा आवश्यक मलको लागि प्रदेश सरकारसँग थप कोटा बढाउन पहल गर्ने पनि उहाँले बताउनुभयो । नगरपालिकाले उपलब्ध मललाई छिटो छरितो, विना झन्झट वितरण गरिने पनि उहाँले बताउनुभयो ।
नगरपालिकाले साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई प्राप्त कोटाको रासायनीक मल उपलब्ध गराउन सिफारिस गरिसकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले साल्ट ट्रेडिङ्ग कर्पोरेशन कम्पनी काटेश्वरलाई एक पत्र पठाउँदै ३४ वटा सहकारीलाई ४५ टन मल (५० केजीको ९ सय बोरा) २६ बोराको दरले उपलब्ध गराउन सिफारिस गर्नु भएको हो ।