काठमाडौं, १३ असोज २०८०
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा क्यान्सरका विरामीको संख्या बढ्नुको प्रमुख कारण धुम्रपानको सेवन भएको बताएका छन् ।
भारतको नयाँ दिल्लीमा रहेको बैंकटेस हस्पिटलले शुक्रबार राजधानीमा आयोजना गरेको क्यान्सर उपचारमा नयाँ प्रविधि बिषयक सिएमई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सूर्तिजन्य पदार्थको सेवनमा कमि ल्याउन सके क्यान्सर विरामीको संख्या कम गर्न सकिने दावी गरे । धुम्रपानको सेवन कम गराउन सरकारले सूर्तिजन्य पदार्थ ऐनको कार्यन्वयनमा जोड दिएको, सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन रोक्ने प्रयास भएको र कर बढाएको मन्त्री बस्नेतले बताए ।
क्यान्सरका विरामीलाई उपचारमा सहूलियत प्रदान गर्न सरकारले क्यान्सरका विरामीलाई प्रत्येक विरामीलाई एक लाख रुपैया सहयोग गर्ने गरेको र यसले उपचारमा थोरै भएपनि राहत भएको मन्त्री बस्नेतले बताए ।
क्यान्सर रोगको उपचारमा नेपालले भारतबाट धेरै कुरा सिक्न बाकी रहेकोले यस प्रकारका सिकाईका कार्यक्रम लाभदायक हुनेमा मन्त्रीले जोड दिए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै क्यान्सर रोग विज्ञ डा. विनोद अर्यालले नेपालमा हरेक वर्ष २० हजार ५ सय क्यान्सरका नयाँ विरामी थपिने तथ्यांक प्रस्तुत गर्दै १३ हजारको क्यान्सरकै कारण वर्षेनी मृत्यु भइरहेको बताए । कार्यक्रममा क्यान्सर रोग विज्ञहरुको सहभागिता रहेको थियो ।