काठमाडौं, २६ चैत्र २०७९
क्यान्सर विजेताहरुको तेस्रो क्यान्सर सर्भाइवर ‘र्याम्प शो’ सम्पन्न भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा शुक्रबार तेस्रो ‘र्याम्प शो’ सम्पन्न भएको हो ।
ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा उक्त शो आयोजना भएको थियो । दोस्रो क्यान्सर सर्भाइवर ‘र्याम्प शो’पनि नेपाल क्यान्सर सर्पोट ग्रुपले दुई पटक नेपाल क्यान्सर हस्पिटलसँगको सहकार्यमा र्याम्प शो सम्पन्न गरिसकेको छ ।
क्यान्सर उपचारपछि पूर्णतया ठीक हुन्छ र मानिस पहिलेजस्तै हुन्छ भन्ने आत्मबल देखाउन ‘र्याम्प शो’ आयोजना गरिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा क्यान्सरलाई आठ पटकसम्म पराजित गर्ने व्यक्तिसहित विभिन्न उमेरका ६० जना बढी क्यान्सर विजेताहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचार नेपालमै सस्तो, गुणस्तरीय र सुलभ रूपमा हुने गरेको बताउनुभयो ।
श्रेष्ठले नेपालमा क्यान्सरको उपचार गर्न सबैलाई प्रेरणा दिनुपर्ने बताउँदै क्यान्सर उपचारपछि निको हुन्छ भनेर जनचेतना जगाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ चिकित्सक, नर्स, क्यान्सर जितेका व्यक्तिलगायतले ‘र्याम्प शो’ गर्नुका साथै नृत्य गरी गीत पनि गाएका थिए।