भक्तपुर , २२ मंसिर २०७७
सरकारले भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा प्रा. डा. विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले क्यान्सर रोग विशेषज्ञ प्रा.डा .पौडेललाई निर्देशकमा नियुक्त गरेको हो। पौडेलले निर्देशकको पत्र भने आज मात्र बुझेका छन्।
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई संघीय सरकार मातहत नै सञ्चालन गर्ने निर्णय गरेको छ। कात्तिक २४ गते मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो।

यसअघि भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको थियो। संस्थाको व्यवस्थापन र वैधानिकता माथि प्रश्न उठेपछि मन्त्रिपरिषदले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गर्ने निर्णय गरेको थियो।
निर्णय भएसँगै हाल अस्पताल सञ्चालनका लागि ११ सदस्यीय भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरिएको छ।
मन्त्रालयको १२औं तहको कर्मचारी समितिको अध्यक्ष र भक्तपुर नगरपालिकाको मेयर पदेन सदस्य हुने व्यवस्था गरिएको छ। अस्पतालका विज्ञहरु, जिल्ला अस्पताल भक्तपुरका मेडिकल सुपरिटेन्डेन्ट, नेपाल अर्बुद रोग निवारण संस्थाका तीन जना लगायत समितिको सदस्य हुनेछन्।
Comments 1